गोरखा, बैशाख १० । भूकम्प गएको करीब छ वर्षपछि लाप्राकका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर पाएका छन् । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकले २०७२ भूकम्पबाट ठूलो क्षति भोगेको थियो । हाल लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज एक कार्यक्रमका बिच भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपालीसङ्घ (एनआरएनए) ले उक्त बस्ती निर्माण गरेको हो ।
प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भूकम्प पीडितलाई लालपुर्जा थमाएर बस्ती हस्तान्तरण गरेका छन् । पाँच सय ७३ घरधुरी रहेको एकीकृत नमूना बस्ती १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
एक परिवारका लागि करीब तीन आना तीन पैसा जग्गा परेको नमूना बस्तीमा प्रत्येक घर चार कोठाका दुई तलाका रहेका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ ।
बस्ती निर्माणका लागि अहिलेसम्म करीब ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ ।
उक्त बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शहरी विकास मन्त्रालयबीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । दुई वर्षभित्रमा बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो ।