Logo

आज लोकतन्त्र दिवसः निरङ्कुश राजतन्त्रले घुँडा टेकेको दिन



काठमाडौं, वैशाख ११ । आज लोकतन्त्र दिवस । दोस्रो जनआन्दोलनको सफलताले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सम्झनामा शनिबार देशैभर बिभिन्न कार्यक्रम हुँदैछन् ।

वैशाख ११ लाइ राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनको रुपमा हेरिन्छ । आजकै दिन २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा संविधान सभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्