Logo

‘कोरोनाको दोस्रो लहर झनै खतरनाक देखियो, आवश्यक सतर्कता अपनाऔं’



मधु धमला क्षेत्री : काठमाडौं, ११ बैशाख । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक रुपमा सतर्कता अपनाउन दिनहुँ अपिल गरिरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ लागु गर्ने भनेको छ । यी मापदण्ड पालना गर्न नमान्नेलाई कडा कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजमात्रै मन्त्री तथा मातहतका निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

नेपालमा कोभि–१९ को दोस्रो लहर सुरु भएको छ । अस्पतालमा संक्रमित विरामीहरुले बेड नपाएका समाचार छन् । अवस्था भयावह बनिरहेको छ । कोरोना संक्रमणको जोखिम पहिलेको भन्दा झनै जटिल बनेको छ । यस्तो बेलामा सरकारको मुख ताकेरमात्रै हुँदैन् । जनस्तरबाट समेत व्यापक रुपमा जनस्वास्थ्यका मापदण्ड पालना हुनुपर्छ । यसमा हामीले हेलचेक्र्याँई गर्नुहुँदैन् । आफू र आफ्नो परिवारका सदस्यलाई नपरी यसको पीडा थाहा हुँदैन् ।

नेपाल सरकारले व्यापक रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरोस । यी मापदण्ड लागु भएको वा नभएकोबारे सोहीअनुसार अनुगमनपनि हुनुपर्छ । नागरिकस्तरबाट पनि सरकारलाई सहयोग हुनुपर्छ । हाम्रै छिमेकी देश भारतमा अहिले अवस्था दर्दनाक छ । अक्सिजन नपाएको समाचार छ । चीन लगायत कतिपय देशले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन् । दैनिक लाखौंको संख्यामा संक्रमित थपिएका छन् । भारत सरकार यतिवेला आफ्ना जनता बचाउने दायित्वमा खरो उत्रिँदापनि लाचार भैरहेको छ ।

भारतले विभिन्न राज्यमा कडा लकडाउन लगाएको छ । नेपालमा पनि अब संक्रमणको कडा अवस्था हेरेर लकडाउन गर्नुपर्ने देखिन्छ । भारतको अवस्था दयनीय छ । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । हामीले अहिलेम्म खुल्ला आवातजावत रोकेका छैनौं । दैनिक फ्लाईट भैरहेका छन् । भारतसँग हाम्रो खुल्ला सिमा छ । स्थलमार्गबाट पनि हजारौंको संख्यामा दैनिक आवातजावत भैरहेको छ । यसरी हेर्दा देशमा अहिले कोरोना संक्रमणको जटिल अवस्था देखियो ।

भारतजस्तो उदयीमान विश्व अर्थतन्त्र भएको देशमा त अक्सिजनको चरम अभाव देखिएको छ भने भोलि नेपालमा दैनिक दशौं हजारको संख्यामा संक्रमित थपिए भने अवस्था के होला ? कल्पना गर्नपनि सकिँदैन् । नेपालमा पनि अब कोरोना जोखिम बढ्दै गएको छ । कोभिडको विरामीलाई उपचारको लागि बेडहरु अपर्याप्त भैसकेको देखिन्छ । कतिपय ठाउँमा त संक्रमितहरु अस्पताल बाहिरै रात कटाउन बाध्य बनेका छन् । त्यसैले यो सबै दयनीय अवस्था हेर्दा तपाई हामी अत्यावश्यक नपरी घर बाहिर ननिस्किऔं । पहिलाभन्दा कडाई रुपमा सरकाले लकडाउन लगाउनुपर्छ । स्कुल, कलेज तत्काल सबै बन्द गर्नुपर्छ । हवाई र यातायात सेवापनि सबै बन्द गर्नुपर्छ ।

धादिङ्गको नेत्रावती डबजोङ्ग गाउँपालिकाको वडा नम्बर ४ को कुरा गर्दा १६ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखियो । यसले के देखाउँछ भने संक्रमण अब समूदायस्तरमा देखियो । त्यसैले पनि कसैले अब कोरोनालाई सामान्य रुपमा नलिऔं । वयोवृद्ध, दिर्घरोगी र बच्चाहरु त झनै उच्च जोखिममा छन् । कोभिड संक्रमण अहिले भुसको आगोजस्तै सल्किएको छ । अब विस्फोट हुनमात्रै बाँकी छ ।

कोरोनाको पहिलोभन्दा पनि दोस्रो वेभले जनधनको बढि क्षति गर्ने देखियो । खतराको घण्टी बजिसकेको छ । सन् १९१८ को स्पेनिश फ्लु हुँदापनि पाँच करोडको ज्यान गएको छ। त्यतिवेला पनि पहिलो वेबभन्दा पनि दोस्रो बेबभा जनधनको क्षति भएको थियो । त्यसैले कोरोनाको यो दोस्रो लहरबारे सबै सचेत हुँदै यसबाट बच्नको लागि आवश्यक र उच्च सतर्कता अपनाऔं ।

यो अवस्थामा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलगायतका फ्रन्टलाईनमा काम गर्नेहरुलाई सरकारले उचित मात्रामा प्रोत्साहन गर्नुपर्छ । उनीहरुको मनोबल बढाउनुपर्छ । सुरक्षित वातावरण बनाउनुपर्छ । त्यसको लागि स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । साथै, उनीहरुलाई उचित मूल्यांकन गर्नुपर्छ । सबै मिलेर कोरोनाको यो दोस्रो लहरलाई परास्त गर्नुपर्छ । सरकारका तीन वटै निकायबीच समन्वय होस् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot