Logo

पर्यटन प्रवद्र्धन गर्न दाम्राङ पोखरीसम्म सडक



लमजुङ, १२ बैशाख । यहाँ पर्यटन प्रवद्र्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि सडक निर्माण गरिएको जानकारी दिए । यस क्षेत्रको प्रचारप्रसारमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय लमजुङमार्फत सडक निर्माण भएको थियो । ठूलाखेत–कामचोक–दाम्राङ–लिपे पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले यस सडक चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको बताए । रु २५ लाखमा पालिकाको वडा नं ४ ठूलाखेतदेखि यसै वडाको दाम्राङ पोखरीसम्म सडक निर्माण भएको उनको भनाइ छ ।

त्यस्तै पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा दाम्राङ पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ । दाम्राङ हरित पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष फुलबहादुर गुरुङले बताए । उनका अनुसार यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको छ ।

दाम्राङ पोखरी तथा यस पार्क गरी करीब १० रोपनी क्षेत्रफल ओगटेको स्थानीयको भनाइ छ । दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । पोखरीको संरक्षण र प्रवद्र्धन गर्नसके पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा सुन्दर ठाउँ हुनसक्ने स्थानीयको भनाइ छ ।

यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिप, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीय युवराज अधिकारीले बताए। प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारले पनि ध्यान दिन थालेकाले आगामी दिनमा पर्यटक आउने अपेक्षा उनले गरे ।

उनका अनुसार यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग निर्माण भएको छ । प्रदेश सरकारको यस चालू आर्थिक वर्षकै बजेट रु २० लाखमा निर्माण भएको हो । इलमपोखरी–लिपे– धौथली–रप्प्रो–दाम्राङ–नौथर शेरा चक्रिय पदमार्गअन्तर्गत उक्त काम भएको छ । यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको स्थानीय अधिकारीको भनाइ छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot