Logo

अक्सिजन दिनुपर्ने बिरामी बढे



काठमाडौं, बैशाख १३ । कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ।’

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्‍याउने गरेको छ। राजभण्डारीले दुईतीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए। डा। राजभण्डारीले भनेझैं भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हालै गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पथ्र्यो भने दोस्रो लहरमा ५४ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा। विमल पाण्डेले पनि यसपालि अक्सिजन चाहिने बिरामी धेरै भएको बताए। ‘भाइरसमा आएका उत्परिवर्तनले संक्रामकता बढेको देखिन्छ’, उनले भने, ‘यसपटक युवा पनि गम्भीर रूपमा बिरामी परेका छन्।’ त्रिवि टिचिङ अस्पतालका चिकित्सक डा। सुवास आचार्य अहिले संक्रमितको संख्या ह्वात्तै बढेकाले सोही अनुपातमा अक्सिजन पनि बढी आवश्यक देखिएको तर्क गर्छन्।

‘यो बिल्कुल तथ्यांकको कुरा हो। पछिल्ला २ सातामा संक्रमण ह्वात्तै बढेको छ। रोगीको संख्या बढेपछि अक्सिजन चाहिने बिरामीको संख्या पनि स्वाभाविक रुपमा बढ्छ,’ उनले भने। दिनको १० हजारको दरमा १० दिनमा १ लाख संक्रमित भएर त्यो संख्याको १० प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपरे स्थिति ज्यादै चुनौतीपूर्ण हुने र अस्पतालका क्षमताले समेत नथेग्ने उनको तर्क छ।

कोरोनाको पछिल्लो लहरका लागि भाइरसको नयाँ भेरियन्ट जिम्मेवार रहेको तर्क एकातिर छ भने अर्कोतिर आमजनसमुदायले स्वास्थ्य मापदण्ड अवलम्बन नगर्दा यो अत्यधिक हिसाबले फैलिएको दाबी पनि छ। संक्रमितको संख्यामा आएको कमीका कारण सरकारी अधिकारीले कोरोना महामारी रोकथाम भएको ठान्दा प्रतिकार्यका लागि आवश्यक पहल नभएको तर्क पनि छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्