Logo

कोरोनाबाट कैलालीमा तीन, कञ्चनपुरमा तीन र ताप्लेजुङमा एकजनाको मृत्यु



काठमाडौं, बैशाख १८ । कैलालीमा थप तीन कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिला, गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
त्यस्तै, कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए। यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।

यसैबीच ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्