Logo

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने कर्णाली प्रदेश सरकारको धोषणा



सुर्खेत, बैशाख २१ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विमला केसीले कोरोना संक्रमणबाट मृत्यु भएका प्रदेशका नागरिकको परिवारलाई राहतस्वरूप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताइन् । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भनिन्, ‘उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।’

अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एकरएक करोड दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी उनले दिइन् । यस्तै प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । ‘हुम्ला, मुगु र डोल्पाका बिरामीलाई ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई खानाका लागि दैनिक ४ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।’ आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्