Logo

सडक विस्तारले गति लिँदै



काठमाडौं, वैशाख २१ । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ ।
वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य अगाडि बढाउन अब कुनै पनि कानुनी वा व्यावहारिक बाधा अड्चन नरहेको जानकारी दिए। उनले अवरोध हटिसकेकाले विस्तार कार्यले गति लिई काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति सात प्रतिशत छ । सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गरेका थिए ।

आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ । विस्तारका क्रममा झन्डै ११ हजार रुख काटिनेछ । यस क्षेत्रमा छवटा वन क्षेत्र छन् ।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर अहिले विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको प्रमुख दिष्टीको भनाइ छ । हाल गैँडाकोट–दाउन्ने सडकखण्ड तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा कल्भर्ट निर्माणको काम सम्पन्न भएको छ ।

प्रमुख दिष्टीका अनुसार अहिलेसम्म २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्