Logo

कांग्रेस विश्वासको मतको विपक्षमा



काठमाडौं, बैशाख २२ । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल पार्ने निर्णय गरेको हो।

बैठकपछि सहमहामन्त्री डा। प्रकाशशरण महतले विश्वासको मतलाई विफल बनाउन पहल गर्ने निर्णय भएको बताए। ‘प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिनका लागि जुन प्रतिनिधिसभाको बैठक बस्ने निर्णय भएको छ’, सहमहामन्त्री डा। महतले भने, ‘यो विश्वासको मतलाई असफल पार्ने निर्णय हाम्रो पार्टीले गरेको छ।’ यस विषयमा अन्य दलसँग पनि कुरा गर्ने निर्णय भएको उनले सुनाए।

प्रधानमन्त्री ओलीले संवैधानिक मूल्यमान्यता भत्काइरहेको निष्कर्ष बैठकले निकालेको छ। ‘अल्पमतमा पुगेपछि जबरजस्ती ढंगले लुम्बनी प्रदेशका मुख्यमन्त्री राखिराख्ने काम भएको छ। त्यो केन्द्रकै निर्देशनमा भएको हो। यस्ता असवैधानिक क्रियाकलाप भइरहेका छन्। यसको समीक्षा गरेर भत्र्सना गरेका छौ’, उनले भने, ‘बजेट अधिवेशन राख्न ढिला भइसक्यो। कोभिड महामारीको अवस्था छ। यी विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मतको कुरा ल्याइयो। त्यसैले ओलीजीलाई फेल गराउन लाग्ने लाग्ने कुरो भएको छ।’

यस्तै, प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि जनता समाजवादी पार्टी (जसपा)ले सांसदहरूलाई काठमाडौं नछाड्न भनेको छ। जसपाको महन्थ ठाकुर पक्षले सांसद र केन्द्रीय कार्यकारिणी सदस्यलाई काठमाडौं बोलाएको छ। उक्त पार्टीमा यो सरकारप्रतिको धारणामा पूर्वराजपा र पूर्वसमाजवादी पार्टी पक्षबीच विवाद रहँदै आएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot