Logo

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका



दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार नौ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिण्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिए । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ”, पोखरेलले भने । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुगेका थिए ।

आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot