Logo

सुरक्षानिकायको कडा निगरानीका बाबजुद कहाँ गयो अक्सिजन ?



काठमाडौं, २९ वैशाख । विगतमा ८ देखि १० घन्टा अक्सिजन उत्पादन गर्ने कम्पनीहरु यतिबेला २४अ‍ै घन्टा सञ्चालनमा छन् । उत्पादन गर्ने कम्पनीहरुको गेटदेखि अक्सिजन भर्ने ठाउँसम्म २४सै घन्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा छ । कडा सुरक्षासहित नियमित अक्सिजन उत्पादन हुँदा पनि अक्सिजन कहाँ पुग्यो ?

अस्पतालहरु अक्सिजन नपाएर विरामी भर्ना लिन छाडेका छन् । भएका विरामीहरुलाई पनि अस्पतालबाट जान भन्न थालेका छन् । सरकारले अक्सिजनको कोटा तोकेपछि विरामीको चाप थेग्न नसक्ने अवस्थामा अस्पतालहरु पुगेका छन् ।

मेडिसिटी, हेल्पिङ ह्याण्डलगायत उपत्यकाका अस्पतालहरु विरामी भर्ना लिन नसक्ने अवस्थामा छन् । खाली सिलिन्डर समेत भर्न नपाएपछि अस्पतालका सञ्चालकहरु विरामी बचाउन नसक्ने हालतमा पुगेको गुनासो गर्छन् । विरामीका कुरुवालाई अक्सिजन आफै व्यवस्था गर्न अस्पतालले भन्न थालेका छन् ।

कतिपय विरामीको कुरुवा भनसुन गरेर भएपनि अक्सिजनको सिलिन्डर बोकेर उत्पादक कम्पनीमै पुग्न थालेका छन् । भनसुन गरेर भएपनि अक्सिजनको व्यवस्था गर्नमा लागेका छन् ।

सरकारले अक्सिजन सिलिन्डर खोज्ने र भर्दा अस्पतालहरुका लागि कोटा नै तोकेको छ । प्रत्येक पटक अक्सिजन आपूर्ति गर्दा गृह मन्त्रालयबाट खटिएकाहरुको निगरानी हुने गरेको छ । यसले पनि पहुँच र प्रभाव हुनेहरुले मात्र अक्सिजन पाउने अवस्था बन्न थालेको छ ।

पहुँच र प्रभाव नभएका सर्वसाधारणले अक्सिजन पाउने सम्भावना कम भएपछि अस्पताल झन् खतरनाक बनेको छ । डाक्टरहरु नै विरामीलाई घरमै कोरोनाविरुद्ध संघर्ष गर्न सुझाव दिन थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार पहुँच र प्रभावको भरमा अक्सिजन भर्ने अवस्था निर्माण गर्न थालिएको छ । निजी अस्पतालहरुले अक्सिजन आवश्यकताभन्दा निकै कम पाउन थालेका छन् । सरकारी अस्पतालमा अक्सिजन त छ तर त्यहाँ पहुँचवालाले मात्र भर्ना र शैया पाउने अवस्था बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्