काठमाडौं, १ जेठ । अक्सिजन नपाएर कोरोना भाइरसका संक्रमितको अस्पतालमै मृत्यु भइरहँदा देशको सबैभन्दा बढी अक्सिजन उत्पादन गर्नेमध्येको कम्पनी दुई दिनयता बन्द छ । २४ घन्टामा ९ सय सिलिन्डर अक्सिजन भर्न सक्ने महालक्ष्मी नगरपालिकास्थित सोपान मेडिकल अक्सिजन दुईदिनयता बन्द भएको हो ।
अक्सिजन प्लान्टरको मेशिन बिग्रदा उत्पादन बन्द भएको हो । कम्पनीका अनुसार मेशिनको पार्ट भारतबाट ल्याइँदैछ र जडान गर्न केही समय लाग्नेछ । सम्भवत भोलिबाटै मेशिन पुनः संचालनको तयारी भइरहेको छ ।
सोपानले देशका ठूला अस्पतालहरुमा अक्सिजनको आपूर्ति गर्दै आएको छ । अक्सिजन उत्पादन बन्द भएपछि ती अस्पतालहरुमा पनि अक्सिजनको अभाव भएको छ ।
दैनिक ९ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको कम्पनी दुई दिनयता बन्द हुँदा दैनिक २ हजार जति विरामी प्रभावित भएका छन् ।
अक्सिजन कम्पनीमा अक्सिजन लिन पुगेका अस्पतालका गाडी देखि व्यक्तिहरु रित्तो फर्किइरहेका छन् । अक्सिजन सिलिन्डर बोकेर दौडनेको दृश्य सडकमा बढ्न थालेको छ ।
सरकारले अक्सिजन कम्पनीहरुमा सुरक्षाकर्मी तैनाथ गरेपनि उनीहरुलाई अप्ठ्यारो पर्दा गम्भीरता देखाएको छैन । अक्सिजन कम्पनीहरुको मेशिन बिग्रदा तत्काल कदम चाल्नुपर्नेमा नचालेको देखिन्छ ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल