एजेन्सी, ३ जेठ । नेपाल र भारतमा पछिल्लो समयमा धेरै मानिसहरु कोरोना संक्रमित भएका छन् । भारतमा दैनिक ४ हजार जनाले ज्यान गुमाउदै आएका छन् । भारतको धनबादमा पनि संक्रमणदर र मृत्युदर उच्च छ । तर, त्यहाँ यस्ता मानिसहरु पनि छन्, जसले कोरोना संक्रमणलाई मजाक बनाउने गर्छन् ।
त्यस्तै भएको छ, भारतको धनबादको सदर अस्पतालको डेडीकेट कोभिड सेन्टरमा । हिरापुरमा बस्ने ३२ वर्षीय युवकले रक्सीको नशामा बबाल मच्चाएका छन् । उनले गरेको हर्कतबाट अस्पतालको डाक्टर र स्टाफहरु रातभरी सुत्न पाएनन् भने उनीहरुले गरेको उपचार पनि व्यर्थ भएको छ ।
वास्तवमा एक युवक रक्सी पिएर आफ्नो घर पुगेका थिए । उनलाई घरमा गालीको वर्षा हुन थाल्यो । उनी ढोकामा नै लडे । उनी लडेपछि घरका परिवारले युवक संक्रमित भएको र सास फेर्न गाह्रो भएको बताउदै स्वास्थ्य विभागमा खबर गरे ।
विभागका कर्मचारी आएर तुरुन्त उनलाई सदर अस्पतलाको डेडिकेटेट कोभिड सेन्टरमा भर्ना गरे । अस्पतलासम्म पुग्दा युवक पटक–पटक बेहोस भएका थिए । डाक्टरहरुले सास फेर्न गाह्रो भएको महसुस गरेर इर्मेजेन्सी वार्डमा राखेर उपचार सुरु गरे । उनलाई गम्भीर समस्या भयो भनेर अक्सिजन दिए, हतार–हतारमा इन्जेक्सन पनि दिए । सबै उपचार गरे पछि उनी होशमा आए । नशाबाट उत्रिएपछि युवक अस्पतालबाट बाहिर निस्किए । रक्सीको नशाले छाडेपछि युवक वार्डबाट बाहिर निस्किए । डाक्टरहरुले पछि मात्र थाहा पाएकी युवकले नशामा नाटक गरेको रहेछ । निस्कदा आफन्तहरु पनि चुप बसे ।