Logo

शेयरबजारमा ऐतिहासिक रेकर्ड



काठमाडौं, जेठ ५ । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि गत माघ २६ गते १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो । उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो ।

कोभिडका कारण अन्य व्यावसायिक क्षेत्रहरू प्रभावित भइरहँदा त्यस क्षेत्रका व्यवसायीहरूले शेयरबजारमा लगानी बढाएकाले कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण अन्य देशमा पनि शेयरबजारले गति लिइरहेकाले विदेशमा बस्ने नेपालीहरूले पनि बजार बढ्ने अपेक्षासहित लगानी गरिरहेको ब्रोकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्नु र तरलता बढ्ने सम्भावना देखिनुले पनि पूँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण जानकारहरूको रहेको छ ।

मंगलवार २१५ कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक अंश नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू। ५० ले बढेको छ । न्यूनतम १ हजार ६४४ देखि अधिकतम १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा १ हजार ६९३ कायम भएको छ ।

मंगलवारको बजारमा होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटेल समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot