Logo

प्रतिनिधिसभा विघटनलगत्तै नागरिकता अध्यादेश



काठमाडौं, जेठ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता प्राप्त बाबुआमाका र बाबुको पहिचान नभएका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने प्रावधान राखेर अध्यादेश जारी गरेकी छन् ।

विघटित प्रतिनिधिसभामा दलहरूको विवादका कारण लामो समयदेखि नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक विचाराधीन थियो । त्यति बेला विधेयक पारित गर्न ध्यान नदिइएकामा प्रतिनिधिसभा विघटन गरेको दुई दिन नबित्दै नागरिकतासम्बन्धी मुद्दा सम्बोधन गर्न भन्दै अध्यादेश जारी गरिएको हो ।

मन्त्रिपरिषद्ले गत बिहीबार नै ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यही दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर सिफारिस गरिएका कोभिड संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट तत्कालै जारी गरिएका थिए ।

प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छलेर ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश भने आइतबार मात्रै प्रमाणीकरण गरिएको हो । नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता प्रमाणपत्र भएका बाबुआमाका र बाबुको ठेगाना नखुलेका सन्तानले वंशजका आधारमा सरल बाटोबाट नागरिकता पाउनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार वंशज बाबुका नामबाट सन्तानले तीन पुस्ता खुलाएर नागरिकताको प्रमाणपत्र पाउने गरेका छन् । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot