Logo

चक्रवातको असर नेपालमा झन्डै एक साता रहने



काठमाडौं, जेठ १२। बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।
चक्रवातको असर नेपालमा झन्डै एक साता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा उत्पत्ति भएको न्यून चापीय प्रणाली विकास हुँदै सोमबार चक्रवातमा परिणत भएको ‘यास’ अझ धेरै शक्तिशाली हुने क्रममा रहेको छ ।

‘यास’ भारतको उडिसाबाट आठ सय किलोमिटरभन्दा टाढा बङ्गालको खाडीमा उत्पत्ति भएर उत्तर–पश्चिमतर्फ आइरहेको छ । नेपालका पूर्वी भागबाट उडिसाको दूरी झन्डै दुई हजार पाँच सय किलोमिटर छ । उडिसाबाट जमिनमा प्रवेश गर्ने यो चक्रवातले उडिसा र आसपासको क्षेत्रमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।अति धेरै शक्तिशाली यो चक्रवातले १९० देखि दुई सय किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान रहेकाले नेपालमा पनि केही असर पार्ने मौसमविद्को अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार चक्रवात उत्तर–पश्चिम सर्दै बुधबार ‘अति धेरै शक्तिशाली’ बन्ने छ । उडिसामा गम्भीर असर पारेको खण्डमा यो चक्रवातले नेपालमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारी वर्षा गराउने छ । यसको असर नेपालको पूर्वी भागमा बढी हुनेछ ।

प्रदेश १ को हिमाली र पहाडी भूभाग तथा बागमती प्रदेशका उच्च भेगमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि पूर्वबाट पश्चिम सर्दै जाने क्रममा बुधबार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot