Logo

कोरोना उत्पत्ति प्राकृतिक कि कृत्तिम ? अमेरिकी गुप्तचर निकाय यथार्थ पत्ता लगाउन सक्रिय



एजेन्सी, १३ जेठ । कोरोना भाइरसको उत्पत्ति प्राकृतिक हो या कृत्तिम ? फेरि चासो बढेको छ । सन् २०१९ मा चीनमा पहिलोपटक देखिएको भाइरस सँसारभर महामारी बनेको छ । पहिलो प्रकारको भाइरस केही मथ्थर भएपनि दोस्रो र तेस्रो प्रकारको भाइरस देखिनथालेपछि विभिन्न आशंकाहरु हुनथालेका छन् ।

अमेरिकी राष्ट्रपति जोय वाइडेनले कोभिड १९ को उत्पत्तिबारे अनुसन्धान गर्न गुप्तचर एजेन्सीहरुलाई निर्देशन दिएका छन् । भाइरसको उत्पत्तिबारे विवाद बढिरहँदा वाइडेनले यस्तो निर्देशन दिएका हुन् । उनले विज्ञप्तिमार्फत् प्रयास बढाएर ९० दिनभित्र रिपोर्ट आफूलाई दिन भनेका छन् । निर्देशनलगत्तै अमेरिकी गुप्तचर निकायहरु काममा सक्रिय भइसकेका छन् ।

अमेरिकाले कोरोना भाइरसको उत्पत्तिमा चीनमाथि आशंका गर्दै आएको छ । चीनको वुआन शहरको ल्याबमा भाइरसको उत्पत्तिबारे आशंका गरिएको छ । तर, चीनले यसको खण्डन गर्दै आएको छ । अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भाइरसको उत्पत्तिको आरोप समेत लगाएका थिए । उनले ‘चाइनिज भाइरस’ सम्म भन्दा आलोचना भएको थियो ।

अमेरिकाको पछिल्लो मिडिया रिपोर्टले भाइरस चीनको प्रयोगशालाबाट उत्पत्ति भएको बलियो प्रमाणबारे उल्लेख गरेका छन् । तर, चीनले यस्तो विषयको भत्र्सना गरेको छ । बरु अमेरिकाको प्रयोगशालाबाट उत्पत्ति भएको हुनसक्ने चीनको भनाई आयो । चीनले पनि अमेरिकी सेनाले योजनावद्ध तरिकाले भाइरस चीनमा सारेको विषय प्रचारमा ल्याएको थियो ।

पहिलोपटक चीनको वुआन शहरमा सन् २०१९ को अन्ततिर कोभिड १९ पत्ता लागेको थियो । सँसारभर कोरोना भाइरसबाट झण्डै १७ करोड मानिस संक्रमित भइसकेका छन् । ३५ लाख मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

कोरोना भाइरस पहिलोपटक वुआनको समुन्द्री खानेकुरा पाउने बजारमा भेटिएको बताइन्छ । वैज्ञानिकहरुले भाइरस अन्य जनावरबाट मानिसमा सरेको विश्वास गरेका छन् ।

वाइडेनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस संक्रमित जनावरसँग मानिसको सम्पर्कबाट वा प्रयोगशालाको दुर्घटनाबाट उत्पत्ति भएको हो स्पष्ट पार्न भनिएको छ । गत वर्ष प्रयोगशालाबाट उत्पत्ति भएको विषयलाई अस्वीकृत गरिएको थियो । तर, यो विषयलाई फेरि उठाइएको छ । यसले कोरोना भाइरसको उत्पत्तिबारे नयाँ चासो बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्