काठमाडौं, १६ जेठ ।
विगत २४ घण्टामा १० हजार ९ सय ८६ वटा पिसिआर परीक्षणमा ३ हजार ७ सय २ जनामा र १ हजार ७ सय ८४ एन्टिजन परीक्षणबाट ६६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुवै विधिबाट गरेर आज कूल ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्या घट्दै गएको देखिए पनि सरकारले परिक्षण संख्या नै घटाएकाले नयाँ संक्रमित कम देखिएको हो ।
दैनिक २० हजारको हाराहारीमा पिसिआर परिक्षण गर्दा ८ देखि ९ हजारको हाराहारीमा संक्रमण पुष्टी हुने गरेकोमा अहिले परिक्षण संख्या १० हजारमा सिमित पार्दा ४ हजारको हाराहारीमा संक्रमण पुष्टी भएको छ । आइतबार थपिएका संक्रमितमध्ये काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाण्डूमा ८०४ गरी कुल १ हजार ९३ नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५७ हजार सात सय नाघेको छ ।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ । गत २४ घण्टामा ६ हजार २ सय ५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड भएर निको हुने दर ७९.२ प्रतिशत रहेको सरकारले जनाएको छ । कूल संक्रमितमध्ये ४ लाख ४० हजार ९ सय ५५ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ७ हजार २ सय ७२ पुगेको छ ।
ज्यान गुमाउनेको सङ्ख्या दुई हप्तापछि गत शुक्रवार एक सयभन्दा कम भएकोमा शनिवार पुनः उकालो लागेर ११६ पुगेको थियो । वैशाख २६ गतेसम्म सार्वजनिक दैनिक विवरणमा मृतकको सङ्ख्या दैनिक १०० भन्दा कम थियो । तर त्यसको भोलिपल्टको मन्त्रालयको विवरणमा १३९ जना सङ्क्रमितले ज्यान गुमाएको उल्लेख थियो ।
वैशाख २८ गते त्यो सङ्ख्या २२८ पुग्यो । जेठ ५ गते भने अहिलेसम्मकै धेरै २४६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख आठ हजार ८९७ भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ७,५६३ संस्थागत आइसोलेशनमा र १,०१,३६४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ । मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १,५४५ जना बिरामी आईसीयूमा र ४०७ जना भेन्टिलेटरमा छन् ।