विराटनगर, जेठ २२ । उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७र७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिए ।
तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ । विभागले उत्पादन लागतमा कच्चा पदार्थको मूल्यको हिस्सा कति छ? भनेर उद्योगीसँग लिखितै कारणसहितको विवरण माग गरेको छ । मातहतका कार्यालयहरूले मूल्य वृद्धिका अन्य कारक यथावत् रहेकै अवस्थामा आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले उत्पादित वस्तुको मूल्यमा पारेको प्रभावको अध्ययन गरिरहेको हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा सनफ्लावर र खानेतेल उत्पादन गर्ने उद्योगहरूको पछिल्लो एक वर्षको अवस्था अध्ययन गरेर त्यसको प्रतिवेदन विभागलाई पठाउने अन्तिम तयारी भएको पोखरेलले जानकारी दिए । चालू आवको साउनमा कायम मूल्यका आधारमा करिडोरका उद्योगले घटीमा ३१.५ प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म मूल्य वृद्धि गरेको अध्ययनका क्रममा पाइएको पोखरेलले जानकारी दिए ।
सूर्यमुखी तेल उत्पादन गर्ने चार र तोरी तेल उत्पादन गर्ने दुई उद्योगको कागजात अध्ययन गरेको कार्यालयले चालू आवको साउनमा आयात गरिएको कच्चा पदार्थ (क्रुड आयल) र गत वैशाखमा त्यही आयात गर्दा परेको मूल्यको अन्तर प्रज्ञानपत्रका आधारमा अध्ययन गरेको छ । चालू आवको साउनमा प्रतिलिटर ९४ देखि १०१ रुपियाँ मूल्यमा आयात गरिएको कच्चा पदार्थको गत वैशाखमा प्रतिलिटर १४४.६७ देखि १६५.८२ रुपियाँ मूल्य परेको अध्ययनका क्रममा देखिएको छ ।गोरखापत्र दैनिकबाट