Logo

खोपका लागि औषधि व्यवसायीको याचना



काठमाडौं, जेठ ३० । जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोनाको बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन गर्नेहरूले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् ।

चिकित्सक, नर्स, पारामेडिक्स, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनमा काम गर्नुपर्ने भएर अधिकांशले खोप लगाइसकेका छन् तर औषधि बिक्रेता (फर्मासिस्ट) र औषधि उत्पादकहरूले कोरोनाविरुद्धको खोप नपाउँदा जोखिम बढेको उनीहरूको गुनासो छ ।

कोरोनाको दोस्रो लहरमा मात्र ८० जनाभन्दा बढी औषधि व्यवसायीले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नुपरेको औषधि व्यवसायीको भनाइ छ । औषधि व्यवसायीले आफूहरूलाई पनि खोपको मात्रा लगाइदिन आग्रह गरेका छन् । अन्यथा ज्यान जोखिममा पारेर औषधि पसल सञ्चालन गर्न नसक्ने चेतावनीसमेत उनीहरूको छ ।

औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले ८० जनाभन्दा बढी औषधि व्यवसायीको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै ठूलो जोखिम मोलेर व्यवसाय सञ्चालन गर्न असहज भएको जानकारी दिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot