पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा जुट्नु निकै सकारात्मक भएको जनाउँदै वितरण गरिएको सामान के कसरी प्रयोग भएका छन् त्यसको अनुगमन गर्न आग्रह गरे ।
डा गौचनले सरकारी अस्पतालको उपचार पद्धति र सेवाप्रति नागरिकलाई विश्वस्त बनाउन आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको सुनिश्चिता आवश्यक रहेको औँल्याए ।
आर्ट अफ लिभिङका प्रशिक्षक संयोजक महेश्वर गिरीले विश्वका १६० भन्दा बढी मुलुकमा योग र ध्यानका साधनाबाट स्वथ्य समाजको निर्माणमा लागिपरेको जानकारी दिए । संस्थाका पोखरा संयोजक विश्वमोहन अधिकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संस्था निरन्तर सक्रिय रहेको र र आगामी दिनमा यस्ता मानवीय सेवाको गतिविधिलाई निरन्तरता दिँदै जाने बताए ।-रासस/File Photo