काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ । कालिकोट, खाडाचक्र नगरपालिका–६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका–६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
डोटीको सिलगढी नगरपालिका–५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका–७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् । सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सल्यानको कालिमाटी गाउँपालिका–४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका–१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन् । उक्त स्थानमा रुख सहितको खसेको पहिरोमा खड्का च्यापिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्दार गरी उपचारका लागि नेपालगंजतर्फ पठाएको बताएको छ । साथै उक्त पहिरोले कालिमाटी(बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ ।
यसैगरी, दैलेखकोआठबिस नगरपालिका–५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीबार दिउँसो ढुंगा सहित पहिरो खस्दा सडक अवरोध भएको छ । सोही नगरपालिका–१ रामाघाटस्थित कर्णाली नदीको बहाब बिहीबार राति बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी हुम्ला, नाम्खा गाउँपालिका–१ स्थित ताग्रुखोलामा बिहीबार दिउँसो आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट(हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।
सुर्खेत, गुर्भाकोट नगरपालिका–१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत(दाङ सडक खण्ड अवरोध भएको छ । साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका–१ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पाल्पा, रैनादेवी छहरा गाउँपालिका–२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ । क्षतिको विवरण खुल्न सकेको छैन् ।
गोरखा, धार्चे गाउँपालिका–१ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीबार राति आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रा सहित खोर बगाएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जगतबाट खटिएको प्रहरीले दुबै घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेको छ ।
तनहुँ, भानु नगरपालिका–११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण बिहीबार दिउँसो भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्याङजा, गल्याङ नगरपालिका–८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको छ । सडक अवरोध भएको खबर प्राप्त हुनासाथ साथै तत्काल खटिएको प्रहरीले एकतर्फी सडक सुचारू गरेको छ ।
ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य सुरक्षा निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार कार्य गरिरहेको जनाएको छ ।