Logo

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना ‘हली’, इजरायली राजदूत ‘बाउसे’



काठमाडौं, असार १६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना २० वर्षपछि आफ्नै जन्मथलो पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जामा रोपाइँ गर्न पुग्नुभयो, साथमा विदेशी राजदूत पनि लिएर । मल्काको आफ्नै खेतमा इजरायली राजदूत हनान गोडरलाई बाउसे बनाएर आफू हलो जोत्दै गरेका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ ।

२०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाइँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएँ । लामो समय भएपनि रोपाइँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रहेनछु भन्ने सुखद् अनुभूति भयो ।’ उहाँले बाल्यकाल र गाउँमा कृषि कर्म गर्दै अध्ययन गर्ने बेलाको समेत स्मरण भएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिना र राजदूत गोडारले हलो जोत्ने मात्रै होइन, धान रोप्ने, बाउसे बन्ने सबै काम सँगै गर्नुभयो । दुवैजनाले खेतमा काम गरिरहँदा हली, बाउसे र खेताला भने अचम्म मानेर हेर्दैै थिए भने कतिले हातको कोदाली फालेर मोबाइलमा दृश्य कैद गर्दै थिए ।अध्यक्ष तिमिल्सिना एकैपटक २० वर्षपछि रोपाइँमा सहभागी हुनुभएको भने होइन । केवल राजनैतिक कार्यक्रम र अन्य कारणले आफ्नै जन्मभूमिमा रोपाइँ गर्न भने भ्याउनुभएको थिएन ।

रोपाइँमा सहभागी हुँदै गर्दा उहाँले कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागतरूपमा मात्रै सीमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रर्बद्धन गर्नुपर्ने पर्नेमा जोड दिनुभयो । उन्नत प्रविधि र नश्लको प्रयोग गरेर व्यवसायिकरूपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको आवश्यक्ता रहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘अब परम्परागतरूपमा गरिने खेतीले हाम्रो आवश्यकता पूरा हुन सक्दैन ।

कृषिमा प्रविधि र व्यावसायिकताको विकास गर्नु अहिलेको प्रमुख दायित्व हो ।’अध्यक्ष तिमिल्सिनासँग रोपाइँमा सहभागी हुनुभएका राजदूत गोडारले राम्जा गाउँमा स्थानीयको स्वागत तथा आत्मीयताले प्रभावित भएको अनुभूति सुनाउनुभयो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot