काठमाडौं, २१ असार । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि पनि प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संविधानलाई चूनौति दिएर प्रतिनिधिसभा विघटन गरिनु आँफैमा दुःखद् भएको भन्दै अदालतले यसअघि पनि सच्याएकोले अहिलेपनि सच्याउनेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने,‘सम्मानित सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्छ भन्नेमा म विश्वस्त छु । संसद् पूनःस्थापनापछि नयाँ सरकार गठनको संसद्मा प्रक्रिया सुरु हुन्छ । विश्वासको मतको आधार संसद् हो ।’ उनले संसद् विघटन गर्ने तहसम्म प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुमा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पनि हात रहेको टिप्पणी गरे ।
दाहाल र नेपालले संसद्बाट एमसीसी पारित गर्न नदिने षड्यन्त्र गरेको र प्रचण्डले चीनमा जस्तो प्रत्यक्ष शासन गर्ने निहित स्वार्थ बोकेकोले आजको परिस्थिति उत्पन्न भउको पनि उनको भनाई छ । अदालतले अहिलेसम्म भएका राजनीतिक गलत अभ्यासलाई सच्याउनेगरि फैसला दिनेमा आफू विश्वस्त रहेको पनि उनको भनाई छ । उनले संसद् पूनःस्थापना भएपनि प्रधानमन्त्रीमा केपी ओलीले नै निरन्तररता पाउने पनि ठोकुवा गरे । उनले भने,‘एमालेबिना वैकल्पिक सरकार बन्ने अवस्था देखिएको छैन् । त्यसैले संसद् पूनःस्थापना भएपनि केपी ओलीकै नेतृत्वको सरकारले निरन्तरता पाउँछ ।’ file photo