काठमाडौं, २१ असार । आज जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापा र आइजीपी शैलेश थापा क्षेत्री एकसाथ देखिए । उनीहरुबीच हतियार हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
आइजीपीमा क्षेत्री नियुक्त भएपछि थापा आफै भेट्न प्रहरी मुख्यालय पुगेका थिए । यो आफैमा सन्देश थियो । अहिले यी दुईको ट्युनिड. मिल्दा सेनाको १० हजार थान हतियार प्रहरीकोमा पुगेको छ ।
विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु प्रधानसेनापति थापाले आइजीपी क्षेत्रीलाई हस्तान्तरण गरेका थिए ।
नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको निर्णयबमोजिम तीन चरणमा उपलब्ध गराउने योजना तय भएको थियो । यही योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा जानकारी दिइयो । हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।
नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्र मणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा बिच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धि सम्झौता पत्र आदान प्रदान भएको थियो ।
जंगी अड्डा, व्यवस्था नीति तथा योजना महानिर्देशक उपरथी अनन्त कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थित थिए