Logo

ओली–नेपाल बाध्यात्मक मिलाप



काठमाडौं, असार २४ । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका निम्ति दोस्रो पुस्ताका नेताहरूले बाध्यता सिर्जना गरेका हुन्।

दोस्रो पुस्ताका भनिएका नेताहरू केही दिनदेखि ओली र नेपाललाई भेट गराएर सहमतिको कागजमा हस्ताक्षर गराउन सक्रिय हुँदै आएका छन्। यो कुरा बुझेर नेपालले आफू निकट दोस्रो पुस्ताका नेतालाई समेत थाहा नदिई निकटका पुराना पार्टी नेता तथा कार्यकर्तालाई भेट्न सुरुसमेत गरिसकेका छन्। यसैक्रममा उनी कसैलाई जानकारी नदिई मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायतको सम्पर्कमा पुगे।

ओली र नेपाल दुवैलाई एकअर्का चाहिएका होइनन्। तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनुपर्ने आवश्यकता महसुस गरेको हो। त्यही भएर उनीहरू कहिले ओली त कहिले नेपालकहाँ अनवरत दबाब दिन सक्रिय भएका हुन्।

ओली र नेपाल दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूले निकालेको एउटा मुख्य निष्कर्ष हो– एमाले विभाजित भएको अवस्थामा आगामी निर्वाचनमा दुवै पक्षको सर्मनाक पराजय हुन्छ। त्योभन्दा पनि पर्तिर गएर उनीहरूले राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ति अहिले एक नहुने हो भने त्यसले मुलुकमा ठूलो शून्यता सिर्जना गर्ने आकलन गरेका छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र त्यसको बलमा स्थापना भएको झन्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार केही मुलुकका निम्ति चिन्ताको विषय भएको हो। त्यसैकारण उनीहरू यसमा आउने विग्रह वा विभाजनका निम्ति प्रतीक्षारत रहेका पनि हुन्।

अन्ततः नेकपामा समस्या उत्पन्न भएकै बेला सर्वोच्च अदालतको आदेशले अलग भएपछि विभाजनको अपेक्षा गरिरहेका शक्तिका निम्ति कसिंगर हावाले उडाएसरह भएको पनि हो। अहिले दोस्रो पुस्ताका नेताहरूले खासगरी यही पक्षलाई समातेर जसरी पनि मिल्नुपर्ने अडान राख्दै आएका छन्। नेता नेपालले सर्वोच्चको आदेशअघि ओलीलाई नभेट्ने वा पार्टी एकताका पहललाई टार्दै लैजान चाहेको देखिएको पनि हो। तर सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको बहस सकेपछि आदेश सुनाउन असार २८ को मिति तोकेपछि नेपाल झनै अप्ठ्यारोमा परेका हुन्।

‘मैले अहिले निकै अप्ठ्यारो स्थिति सामना गरेको छु,’ उनले आफू निकट व्यक्तिहरूलाई भन्दै आएका छन्, ‘आफ्नै साथीहरू जसरी पनि हस्ताक्षर गराउनतिर लागेका छन्। ओलीसँग यत्तिकै मिल्न सक्ने स्थिति छैन तैपनि यो कुरालाई बेवास्ता गरेर जान सक्ने स्थिति छैन।’ त्यही भएर पनि उनी पुराना नेताहरू भेट्न विभिन्न ठाउँमा गइरहेका हुन्। नेपाललाई दोस्रो पुस्ताले साह्रै अप्ठ्यारो पारेपछि भन्ने गरेका छन्, ‘म सुरुङको मुखसम्म जान्छु। अरु सुरुङभित्र पसेपछि म सुरुङको मुखबाट फर्कन्छु।’

नेपालका निम्ति यतिखेर एकातिर पार्टीभित्र मिल्नै पर्ने बाध्यता सिर्जना भएको छ, अर्कोतिर प्रमुख विपक्ष नेपाली कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका विपक्षी नेताहरूसँग मिलेर सर्वोच्चमा विघटनविरुद्ध दायर गरेको मुद्दा र नयाँ सरकार बनाउने प्रतिबद्धताले पनि उनी बाँधिएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्