Logo

२०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध गराइन्छ: प्रधानमन्त्री



काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने बताए । आइतवार वीर अस्पतालको नवनिर्मित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रूपान्तरित नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नियमित खोप आउने बताए ।

उहाँले सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रूपमा खोप आइराख्ने बताउँदै कोही पनि नागरिक खोपबाट वञ्चित नहुने बताए । उनले भने, ‘हामीले खोप उपलब्ध गराएका छौं, हिजो आयो, आज आयो, अब भोलि पनि नियमित रूपमा आउँछ ।’

यसअघि गतवर्ष माघ दोस्रो साता खोप अभियान शुरू गर्दा प्रधानमन्त्री ओलीले वैशाखभित्र सबै नेपालीलाई खोप लगाइसक्ने दाबी गरेकोमा खोप ल्याउन नसकेपछि सरकारको आलोचना भइरहेको छ । अब खोप नियमित आउने दाबीसहित पुस÷माघसम्ममा सबैलाई खोप लगाइसक्ने प्रमको दाबी छ ।

सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले सहयोगस्वरूप उपलब्ध गराएको १० लाख डोज कोभिडशिल्ड खोपबाट खोप कार्यक्रम शुरू गरेको थियो । २० लाख डोज खोप खरीद गर्न पैसा भुक्तानी दिए पनि १० लाख मात्र खोप भारतले उपलब्ध गराएको छ । १० लाख खोप हालसम्म पनि उपलब्ध गराएको छैन । भारतबाट कोभिडशिल्ड खोप नआउँदा पहिलो मात्रा लगाएकाहरू ज्येष्ठ नागरिकहरू आक्रोशितसमेत भएका छन् ।

गतवर्ष चैतमा ८ लाख, गत जेठमा १० लाख र पछिल्लो समय शुक्रवार ८ लाख गरी २६ लाख खोप नेपाल आएको छ । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप किनेकोमा हरेक हप्ता क्रमशः आउँदै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताएका छन् । यसबाहेक अमेरिकाले नेपाललाई एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सहयोग दिने भएको छ ।

उनका अनुसार यसबाहेक हालसम्म कहाँबाट कति खोप आउने भन्ने भने पक्का भएको छैन । खोप खरीदका लागि प्रयास गरिरहेको बताउँदै उनले थप खोप खरीदबारे पक्का भइनसकेको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot