Logo

पर्सि संसद् अधिवेशन



काठमाडौं, साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि सुरु हुनेगरी आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन डाकेकी हुन्। अधिवेशन दिनको ४ बजे सुरु हुनेछ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–३–३१ को सिफारिसमा संवत् २०७८ साउन ३ गते आइतबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गते बस्नेगरी आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। असार ७ गते मध्यरातमा तत्कालीन मन्त्रिपरिषद् (केपी ओली नेतृत्वको सरकार) को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतले गत सोमबार (असार २८ गते) प्रतिनिधिसभा पुनस्र्थापना गर्दै साउन ३ गतेभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो। तत्कालीन सरकारले गत सोमबार हतारहतारमा अन्त्य गरेको राष्ट्रियसभाको अधिवेशन पनि साउन ३ गते बस्नेगरी राष्ट्रपतिले बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री बन्न कसैको पनि आधार पेस नभएको भन्दै धारा ७६ (३) का प्रधानमन्त्री ओलीको सिफारिसमा गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्च अदालतले विघटन असंवैधानिक ठहर गर्दै पुनस्र्थापना गरेको थियो। यसअघि पनि गत पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई फागुनमा सर्वोच्च अदालतले पुनस्र्थापना गरेको थियो।

जारी राष्ट्रियसभाको अधिवेशन भने सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेकै दिन असार २८ गते ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले अन्त्य गरेकी थिइन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्