Logo

डुब्न लागेका माधव नेपाललाई कस्ले बचाइदियो



काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए,‘देश डुब्न लाग्यो, माझी आऊ बचाऊ !’ उनी आफै राजनीतिमा डुब्दै गएका थिए । तत्कालीन नेकपामा उनको वरियता चौंथो थियो । देशको प्रधानमन्त्री भइसकेका र कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालिसकेका नेपालका लागि त्यो पीडादायक क्षणहरु थिए ।

धेरैले माधव नेपालको राजनीति अब सकियो पनि भनेका थिए । नेपाललाई उनका विश्वासपात्रहरुले नै छाड्दै गएका थिए । नेकपाभित्र पदाधिकारी, स्थायी कमिटी सदस्य हुँदै केन्द्रीय सदस्य र सांसदहरुले पनि नेपालको साथ छाड्दा रित्तिने अवस्था बनिसकेको थियो ।

तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहकार्यले नेपाल झन् कमजोर भएका थिए । सरकारमा उनले बल्लतल्ल एक दुईजना मन्त्री पठाउन सकेका थिए । ती पनि उनका भएनन् । नेपाल डुब्दै थिए । तर, ओली र प्रचण्डको द्वन्द्वले उनको राजनीतिलाई विस्तारै उतारिदियो ।

प्रचण्डसँग सहकार्य गरेर नेकपाभित्र संघर्ष गर्न थाले । त्यसले नेकपा विभाजनसम्म पुग्यो । त्यसपछि नेकपा एमाले बन्दा नेपाललाई ठूलो झड्का लाग्यो । उनी कत्ति पनि विचलित भएनन् । नेकपा एमालेमै बसेर संघर्ष गर्ने निर्णय लिए ।

नेपालले निरन्तर संघर्ष गर्दै ओलीसँग सम्झौता गर्न खोजे । तर, ओलीले पेल्दै जाने नीति बनाए । त्यो नै माधव नेपालका लागि लाभदायक बन्यो ।

संसदीय राजनीतिमा भिजेका नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरुसँग गठबन्धन गरेर ओलीलाई अप्ठ्यारोमा पारे । यो संघर्षमा नेपाललाई उनकै विश्वासपात्रहरुले छाड्दै गएका थिए । तर, उनले चट्टाने अडान लिए ।

‘गर या मर’ को राजनीतिक लडाईंमा माधव नेपाल उत्रिए । ओलीले एकपछि अर्को गरी चालेको कठोर कदम माधव नेपालको डुब्न लागेको राजनीति बचाउने माझी बन्नपुग्यो । ओलीलाई सत्ताबाट हटाइछाड्ने योजनामा नेपाल सफल भए ।

यतिबेला परिस्थिति यस्तो भएको छ कि माधव नेपालसँग २३ सांसद देखिएका छन् । उनलाई १० सांसद भए पनि पुग्ने अवस्था बनेको छ । तर, नेपालका लागि जस्तोसुकै जोखिम मोल्न तयार भएका १९ सांसद खुलेका छन् । यसले उनलाई राजनीतिमा पुनः निर्णायक शक्ति बनाएको छ । नेपाल अहिलेको नेपाली राजनीतिमा निर्णायक शक्ति मात्र नभई शक्ति केन्द्र बनेका छन् ।

माधव नेपालको डुबिसकेको राजनीतिलाई उतार्न ओलीकै कठोर निर्णयले भूमिका खेल्यो । डुबिसकेका माधव नेपाल उत्रिएका छन् । उनी फेरि राजनीतिमा बलियो शक्रि बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot