Logo

पुष्पलालका १२ आयाम



मोदनाथ प्रश्रित : नेपालको विभिन्न कम्युनिस्ट नेतामध्ये कमरेड पुष्पलालमा अनेक उल्लेख्य फरक विशेषता थिए । अध्ययन, अनुसन्धान, चिन्तन, सङ्गठन, व्यवहार, नैतिकता आदि क्षेत्रमा उहाँका जुन फरक विशेषता थिए, तिनले नेपालको लोकतान्त्रिक र वाम आन्दोलनमा गम्भीर प्रभाव पारेका छन् । अहिलेका नेता, कार्यकर्ताहरूले पनि जान्नुपर्ने र सिक्नुपर्ने उहाँका गुण र योगदानबारे आफूले अध्ययन–अनुभव गरेका केही कुरा प्रस्तुत गर्न चाहन्छु ।

१. नेपाल प्रजातन्त्र सङ्घका संस्थापक

अरू कम्युनिस्ट नेताहरूभन्दा पुष्पलालमा लोकतान्त्रिक स्वभाव र शैलीमा उदारता र गम्भीरता बढी थियो । उहाँ सामान्य रूपमा माक्र्सवादी सिद्धान्तबाट प्रभावित भएर आफू कम्युनिस्ट आन्दोलनमा लाग्ने अठोटमा पुगेपछि पनि नेपाल प्रजातन्त्र सङ्घ खोलेर सङ्गठनात्मक काममा अघि बढ्नुभएको थियो ।

वि.सं. १९९७ का चार सहिदमध्ये दरशथ चन्द र गङ्गालाल साम्यवादी विचारबाट प्रभावित थिए । उनीहरूबाट परेको सामान्य प्रभाव, सहिद काण्डले पारेको धक्का र आफ्नै अध्ययनबाट पुष्पलालले आफूलाई कम्युनिस्ट भन्न थाल्नुभएको थियो । २०४९ असारको एक भेटमा शम्भुराम श्रेष्ठले मसँग भन्नुभएको थियो– ‘१९९८ तिर पुष्पलाल र मैले मार्क्सवाद त राम्ररी बुझेका थिएनौं तर पनि आफूलाई कम्युनिस्ट भन्न थालेका थियौं र परस्पर कमरेड भनी सम्बोधन गर्ने र ‘लालसलाम’ भनी अभिवादन गर्ने गर्थ्र्यौं । वि.सं. १९९८ मा सूर्यबहादुर भारद्वाजको पहलमा पुष्पलाल, प्रेमबहादुर कंसाकारहरूले ‘नेपाल प्रजातन्त्र सङ्घ’को स्थापना गर्नुभएको थियो । अनि क्रमश: उहाँहरू विभिन्न आन्दोलनमा सक्रिय हुँदै जानुभयो ।’

२००३ चैतमा जोगवनी (भारत)मा नेपाली राष्ट्रिय काङ्ग्रेसको दोस्रो अधिवेशन हुँदा काठमाडौंबाट पुष्पलालले प्रतिनिधित्व गर्नुभएको थियो । त्यसपछि उहाँ राष्ट्रिय काङ्ग्रेसका केन्द्रीय कार्यालय बनारसमा कार्यालय सचिव बन्नुभएको थियो । पछि बीपी कोइराला र डिल्लीरमणबीच अध्यक्ष पदका लागि द्वन्द्व चलेपछि पुष्पलाल काङ्ग्रेस पार्टी छोडी कम्युनिस्ट पार्टीको स्थापनातिर लाग्नुभयो ।

उहाँले २००७ को आन्दोलन र ०१७ पछिका आन्दोलनमा पनि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी मिली संयुक्त जनआन्दोलन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । तर त्यसमा नेपाली काङ्ग्रेसका प्रमुख नेता सहमत नभएकाले पुष्पलालको जीवनकालमा त्यस्तो संयुक्त आन्दोलन हुनसकेन । त्यो सपना २०४६ मा साकार भयो । ‘जय नेपाल’को अभिवादन राष्ट्रिय काङ्ग्रेस बन्नुभन्दा अगाडि नै पुष्पलालले चलाउनुभएको थियो ।

२. नेपाल कम्युनिस्ट पार्टीका संस्थापक

नेपालमा २००६ सालसम्म उद्योगधन्दाको प्रशस्त विकास भई आर्थिक वर्गहरू स्पष्ट र सशक्त बनेका थिएनन् । तर पनि भारत र चीनका क्रान्तिकारी सङ्घर्षहरूले नेपाली जनतालाई प्रभावित पार्दै गएका थिए । त्यसैले मूलत: पुँजीवादी विचार लिएको नेपाली काङ्ग्रेस राणाशाहीको विरुद्ध केन्द्रित हुने तरखरमा थियो । तर ‘मजदूर वर्ग बलियो नहुनाले अहिल्यै नेपालमा कम्युनिस्ट पार्टी खोल्ने बेला भएको छैन कि’ भन्ने पुष्पलालको विचार थियो ।

‘किसान र मजदूर मिलेर कम्युनिस्ट आन्दोलन चलाउन सकिन्छ’ भन्ने भारतीय कम्युनिस्ट मित्रहरूको सल्लाह र चीनमा कम्युनिस्ट पार्टी विजयोन्मुख रहेको अवस्था हेरी पुष्पलालले २००६ मा ‘लोकजनवादी क्रान्ति सम्पन्न गर्ने’ उद्घोषसहित नेपाल कम्युनिस्ट पार्टी स्थापनाको नेतृत्व गर्नुभयो । कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनिएको थियो– नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाको निम्ति अन्त गर्ने, आम जनतालाई पूर्ण स्वतन्त्रता, प्रजातन्त्र र मौलिक आर्थिक अधिकारहरूको प्रत्याभूति दिने गरी बालिग मताधिकारको आधारमा संविधान बनाउने ।

३. गणतन्त्रका प्रथम उद्घोषक

चीन र भारतको गणतान्त्रिक आन्दोलनको भावनाबाट प्रेरित भएकाले पुष्पलालसहित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सामन्ती राजतन्त्रको समूल उन्मूलन गरी लोक जनवाद र गणतन्त्र स्थापना गर्ने कुरामा छलफल गर्दै हुनुहुन्थ्यो तर तत्काल खुला रूपमा काम गर्न अनुकूल वातावरण होस् भनी उहाँहरूले कम्युनिस्ट पार्टीको घोषणापत्रमा यस्तो भावात्मक वाक्य प्रयोग गर्नुभएको थियो– ‘सामन्ती एकतन्त्रवाद तथा विदेशी अधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वतन्त्रता ।’ पछिका दस्तावेजहरूमा (खासगरी ०१७ पुस १ को शाहीकाण्डपछिका दस्तावेजहरूमा) पुष्पलालले ‘गणतन्त्र स्थापना’को कुरा स्पष्ट रूपमा उल्लेख गर्न थाल्नुभएको थियो ।

४. भौतिकवादी चिन्तक र लेखक

नेपालका पहिलो पुस्ताका कम्युनिस्ट नेताहरूमा ऐतिहासिक भौतिकवादको अध्ययन चिन्तन र लेखनमा पुष्पलाल नै अग्रणी हुनुहुन्थ्यो । त्यसअघिका इतिहास लेखकहरूले ‘नेपालको इतिहास राजतन्त्रबाट सुरु भएको’ भन्ने ढङ्गले प्रस्तुत गर्दै आएका थिए । पुष्पलालले त्यस प्रवृत्तिको खण्डन गर्दै ‘नेपालमा मातृसत्तात्मक समाज’ शीर्षक खोजपूर्ण लेखद्वारा इतिहास अन्वेषण र लेखनको नयाँ परम्परा सुरु गर्नुभयो ।

त्यसक्रममा उहाँले नेपालमा पितृसत्ताको उदय, प्राचीन गणतन्त्रहरूको अन्त्यपछि राजतन्त्रको स्थापनाजस्ता विषय प्रस्तुत गर्दै नेपाली इतिहासको यथार्थवादी व्याख्या अघि सार्नुभयो । उहाँले

नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र भविष्य, नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका, नेपालको जनआन्दोलनको इतिहास, भानुभक्तको योगदान आदि विषयमा आफ्ना विचार विश्लेषणमूलक ढङ्गले स्पष्ट रूपमा अघि सार्नुभयो । यस रूपमा नेपाली इतिहासको वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रस्तुतीकरणको भूमिका पुष्पलालबाट नै सुरु भयो ।

५. गहन अध्येता र दूरदर्शी नेता

पुष्पलालले औपचारिक शिक्षामा २००२ मा पाटन हाई स्कुलबाट प्रवेशिका (एसएलसी) परीक्षा मात्र उत्तीर्ण गर्नुभएको थियो । तर, उहाँ नेपाली नेताहरूमा सबभन्दा बढी गहन र विश्लेषणमूलक अध्ययन गर्नेहरूमा अग्रिम पंक्तिमा हुनुहुन्थ्यो । २०१७ पछि भारत प्रवासमा निर्वासित भई काम गर्दा प्राय: दैनिक रूपमा नियमित अध्ययन गर्ने र प्रत्येक वर्ष कलकत्ता या वनारसका ठूला पुस्तकालयमा दुई–दुई महिनासम्म पूरै समय लगाई अध्ययन गर्ने गरेको म आफैंले देखेको हुँ ।

प्रवेशिका मात्र उत्तीर्ण भए पनि उहाँको अङ्ग्रेजी ज्ञान गहिरो थियो । इतिहास, दर्शन, समाजशास्त्रजस्ता विषयमा उहाँको अध्यन विस्तृत थियो । आफ्नो मौलिक प्रतिभा, सङ्घर्षको अनुभव र अध्ययनको गम्भीरताले उहाँमा विश्वको समग्र स्थिति हेरेर निचोड निकाल्ने र सुदूर भविष्यसम्मको यात्राबारे स्पष्ट रूपमा सोच्न सक्ने विशिष्ट क्षमताको विकास भएको थियो ।

६. संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता

पुष्पलाल १९९८ देखि नै वाम लोकतान्त्रिक आन्दोलनमा अग्रसर हुनुभएको र नेपाली राष्ट्रिय काङ्ग्रेसको केन्द्रमा पनि बसेर काम गर्नुभएकाले लोकतान्त्रिक आन्दोलनमा काङ्ग्रेस, कम्युनिस्ट र अरू उदीयमान शक्तिसमेत मिलेर अघि बढेमात्र सफल हुन सकिन्छ भन्ने स्पष्ट विचार राख्नुहुन्थ्यो ।

२००७ को आन्दोलनमा पनि उहाँले नेपाली काङ्ग्रेससित त्यो प्रस्ताव राख्नुभएको थियो । २०१४ को संविधानसभासम्बन्धी आन्दोलनमा र ०१७ सालपछि निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा पनि उहाँले काङ्ग्रेससित संयुक्त जनआन्दोलनको प्रस्ताव राख्नुभयो । तर, बीपी कोइराला नेतृत्वमा छँदासम्म त्यस प्रस्तावलाई काङ्ग्रेसले पूरै उपेक्षा गर्‍यो । त्यसैले निरङ्कुश पञ्चायती व्यवस्थाले ३० वर्षसम्म जनतालाई कुल्चेर शासन गर्न सक्यो ।

पुष्पलाल र बीपीका देहावसानपछि तत्कालीन नेकपा मालेले त्यही प्रस्ताव अघि सार्दा २०४६ को संयुक्त जनआन्दोलन सफल भयो । २०६२/०६३ मा त एमाले र काङ्ग्रेसका साथै नेकपा (माओवादी) समेत संयुक्त जनआन्दोलनमा उत्रेकाले देशबाट राजतन्त्र नै समाप्त भई लोकतान्त्रिक गणतन्त्र स्थापना हुनसक्यो । यी घटनाक्रमले पुष्पलाल कति वस्तुवादी चिन्तक र दूरदर्शी हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ ।

७. पार्टीको आर्थिक प्रबन्धमा नैतिक स्वच्छता

पुष्पलाल राजनीतिक पार्टीहरूको आर्थिक प्रबन्धमा पार्टी र जनवर्गीय सङ्गठनहरूको शुल्क, चन्दा, समर्थकहरूको स्वेच्छिक सहयोग, पार्टी प्रकाशनहरूको बिक्रीवितरण आदिको आय मात्र सामेल गर्न हुने, लुटमा अवैध बाटोबाट आएको पैसा लिन नहुने कुरामा नीतिगत रूपमा नै स्पष्ट हुनुहुन्थ्यो ।

सुरुमा नेपाल प्रजा परिषद्का कार्यकर्ता हुँदा उहाँलाई तराईमा डाँकाहरूको सङ्गठन गरी तिनीहरूले लुटेको धनबाट एक हिस्सा पार्टीले लिने व्यवस्था गर्न बारा–पर्सातिर पठाइएको रहेछ । उहाँले धेरै विचार गरेपछि त्यस्तो गलत काम गर्न नहुने निचोड निकाली त्यो पार्टी नै छोडेर राष्ट्रिय काङ्ग्रेसतिर लाग्नुभएछ । त्यसरी नै ०३० सालतिर केशरमणि पोखरेल र एमएस थापाहरूले सामन्तहरूको धन खोसेर पार्टी कोष बढाउँदा पार्टीसँग उनीहरूको दूरी बढ्दै गयो । अन्त्यमा केशरमणि र एमएस थापा आदिले ‘मनी एक्सन’को अभियान सुरु गरे । त्यसबाट पार्टीभित्र विवाद बढ्दै गयो । त्यसलाई गल्ती महसुस गर्नेहरू पार्टीमा रहे, नगर्नेहरू बाहिरिंदै गए ।

८. सादा जीवन, कठोर दु:खमा पनि धैर्य र सन्तोष

पुष्पलालको जीवन ज्यादै सरल र सादा थियो । पहिरन, विस्तरा आदि एकदम साधारण थिए । दसबाह्र वर्षदेखि एउटै ओभरकोट लगाएको देखें मैले । दाल, भात र चटनी पाए प्रसन्न हुने, साता–दस दिनमा राँगाको मासु पाए ‘अहा, क्या मस्त भोज खाइयो’ भनी खुसी मनाउने स्वभाव थियो उहाँको । २०३० सालको वैशाख, जेठ र असारमा पुष्पलाल, गोविन्द ज्ञवाली र म बनारसमा सँगै बसेका थियौं । कतैबाट पनि आर्थिक सहयोग नआउँदा केवल ३० रुपियाँले तीनजनाले एकएक मुठी चना र खाने सोडा राखी फुलाएको एकएकवटा पेमा रोटी खाएर गुजारा गर्नुपर्‍यो ।

त्यस्तो सङ्कटमा पनि पुष्पलालमा कुनै चिन्ता देखिएन । उहाँको त्यो धैर्य र सन्तोष हाम्रा जीवनको अविस्मरणीय संस्मरण बनेको छ । स्मरणीय छ, मदन भण्डारीले छात्रावासबाट आफ्नो खाना कटौती गरी ल्याएको रोटीले छाक टार्दा पुष्पलालले ज्यादै कृतज्ञ भई सजल नेत्रले धन्यवाद दिनुभएको थियो ।

९. श्रमप्रति श्रद्धा र आस्था

बनारसको पार्टी सम्पर्क कार्यालयमा हामी कमरेड पुष्पलालसँग सँगै बस्दा तीनजनाबीच श्रमविभाजनको प्रस्ताव पुष्पलालले अघि सार्नुभयो ।

१. पार्टी कार्यालयका आठवटा कोठा बिहानै बढार्ने र इनारबाट चार बाल्टी पानी निकाल्ने ।

२. सरसामान किन्ने र खाना बनाउने ।

३. खाना पकाएका भाँडाकुँडा र भान्सा सफा गर्ने ।

अनि उहाँले नै हामीलाई रोजेर श्रम जिम्मा लिन भन्नुभयो । ‘हामी दुईजनाले सबै काम गर्छौं, तपाईं लेखपढ र प्रशिक्षणमा लाग्नोस्’ भनी निकै आग्रह गर्दा पनि उहाँले मान्नुभएन । ‘उसो भए तपाईंले कुन काम जिम्मा लिने रोज्नोस्’ भन्ने हाम्रो आग्रहपछि उहाँले भन्नुभो, ‘म बिहान चाँडै उठ्छु, कोठाहरू सफा गरी नुहाएर पानी भर्छु, अरू दुई काम तपाईंहरू बाँड्नोस् ।’ हामीले मान्नैपर्‍यो । मैले सामान किन्ने, खाना पकाउने र गोविन्दजीले भाँडा माझ्ने काम थाल्यौं ।

पुष्पलालले आफूले खाना खाएका भाँडा आफैं माझ्ने र आफ्ना कपडा आफैं धुने गर्नुहुन्थ्यो । श्रमको त्यस जिम्मेदारीमा पुष्पलालले कहिल्यै पनि तलमाथि पार्नुभएन ।

१०. राष्ट्रिय एकता र अखण्डताको प्रबल भावना

२०३१ सालमा खगेन्द्रजङ्ग गुरुङले ‘हाम्रा पुराना जातीय राज्यहरूलाई स्वायत्त अधिकार दिने बाचा गर्नुहुन्छ भने हामी सबै जनजातिहरूको समर्थन कम्युनिस्ट पार्टीलाई जुटाइदिन्छौं’ भन्ने प्रस्ताव ल्याए । उहाँले भन्नुभो, ‘प्रस्ताव केन्द्रीय समितिमा छलफल गराउँछु ।’ बैठकमा दुई दिन जमेर छलफल भयो । ‘जातीय राज्यको सवालले राष्ट्र खल्बलिन्छ र विखण्डित हुनसक्छ । वर्गीय सिद्धान्त लिने पार्टीले यस्तो काम गर्नुहुँदैन’ भन्ने निचोड निस्क्यो । खगेन्द्रजङ्गले त्यही जवाफ

पाए । उनी निराश भएर फर्के । त्यसको एक वर्षपछि उनले फेरि पार्टी कार्यालयमै आएर पुष्पलालसँग भने, ‘तपाईंहरूले  गरेको निर्णय उचित रहेछ भन्ने मनन हामीले गर्‍यौं । अब हामी यस्तो माग गर्दैनौं ।’ पछि उनी आफ्नो त्यही पछिल्लो विचारमा अडिए या अर्कै सोचे, मेरो भेट भएको छैन ।

११. अन्तर्राष्ट्रिय मित्रता

पुष्पलालले अन्तर्राष्ट्रिय वर्गीय मित्रतामा पनि निकै ध्यान दिनुभएको थियो । भारतका कम्युनिस्ट नेताहरूसितको लामो छलफलपछि नै उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । भारतमा उहाँका सहयोगी मित्रहरूको ठूलै समुदाय थियो । तर, उहाँले त्यहाँका कम्युनिस्ट नेताहरूले आर्थिक सहयोगको सन्दर्भमा एकपटक स्वावलम्बनको सुझावसहित ‘चाहिएमा प्रशस्त सहयोग गर्नसक्ने’ प्रस्ताव राखेपछि उहाँले उनीहरूबाट एक पैसा पनि सहयोग नलिई पार्टी चलाउने सङ्कल्प गर्नुभयो । भयङ्कर सङ्कटको बेलामा पनि उहाँले अन्तर्राष्ट्रिय मित्रहरूबाट सहयोगको प्रस्ताव आउँदा स्वीकार्नुभएन । उहाँले भारतका मित्रहरूसँग मिलेर क्रान्तिको सहयोगार्थ ‘नेपाल–भारत जनमैत्री सङ्घ’ स्थापना गर्नुभएको थियो ।

१२. उग्रवाद र व्यक्तिहत्याका विरोधी

कम्युनिस्ट आन्दोलनमा उग्रवादी सोच र व्यक्तिहत्याको प्रवृत्तिबाट हुने दुस्परिणामबारे उहाँ ज्यादै सचेत हुनुहुन्थ्यो । ‘उग्रवादी कम्युनिस्ट, एक बालरोग’ शीर्षक लेनिनको किताब पढ्ने सल्लाह सबलाई दिनुहुन्थ्यो उहाँ । भारतमा चारु मजुमदारको व्यक्तिहत्या अभियान चल्दा नेपाली युवाहरूमा आएको आवेगलाई मत्थर पारी सही चिन्तन दिन उहाँले अथक प्रयत्न गर्नुभयो । तर, दु:खको कुरा अहिले नेपाल त्यही बालरोगको भीषण परिणाम भोगिरहेछ ।

कमरेड पुष्पलालसँग २०२८ देखि २०३२ सम्म सँगै बस्दा उहाँलाई मैले यसै रूपमा चिनें । उहाँ कुनै पनि निर्णय निकै सोचेर, सम्झेर, छलफल गरेर मात्र गर्नुहुन्थ्यो । भावावेशमा आउने, आफ्ना विचार, बोली र निर्णय फेर्ने काम उहाँबाट हुँदैनथ्यो । कुनै विषयमा पुन: निर्णय गर्नुपरे पनि एक्लै बोल्ने या कसैलाई छलफल गर्न नदिई आफै निर्णय गर्ने काम उहाँ गर्नुहुन्नथ्यो ।

पुष्पलाल कमरेडका यी बाह्र आयामलाई सबै राजनीतिक दल र नेता–कार्यकर्ताहरूले अँगाल्नसके वर्तमान जटिल समस्याहरूको समाधान सहज रूपमा भई देशलाई प्रगतिपथमा अघि बढाउन निकै सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ ।

नवयुग, २०६७

 

 



प्रतिक्रिया दिनुहोस्