Logo

प्रचण्डलाई भीम रावलको प्रश्न : हाम्रो स्थितिमा हुनुभएको भए के तपाईँ हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?



काठमाडौं, ९ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले सांसद पदबाट राजीनामा दिएको प्रसंगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज गरेको टिप्पणीबारे प्रतिक्रिया दिएका छन् । आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले भीम रावलको नामै नलिई सांसद पदबाट दिएको राजीनामालाई लिएर केही साथीहरु ढलेको भन्ने टिप्पणी गरेका थिए । र, रावलको राजीनामालाई पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्रको रुपमा दाहालले चित्रण गरेका थिए ।

दाहालको यस्तो टिप्पणी आएपछि रावलले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ फर्काएका छन् । उनले आफ्नो राजीनामालाई दाहालले गठबन्धन फुटाउने खेल भनेको विषयलाई मनगढन्ते र हाँस्यास्पद भनेका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मिलित गठबन्धन प्रतिनिधिसभा पूनःस्थापनाको लागि गठन गरिएको पनि स्पष्ट पारेका छन् । र, प्रचण्डको स्वार्थ आफ्नो पार्टीका सांसदहरुलाई मन्त्री बनाउनुमात्रै भएको पनि उनले टिप्पणी गरेका छन् । उनले आफूहरु आफ्नो पार्टी फुटाएर गठबन्धनमा सहभागी हुन नगएको पनि उल्लेख गरेका छन् ।

उनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर आफू ढलेको नभई नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रको विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको पनि दाबी गरेका छन् । रावलले आफूहरुले सांसद पदमात्रै नभई राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पूनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन योगदान पुर्याएको स्मरण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot