Logo

सिंहदरबारमा भेटघाटमा व्यस्त सुहाङ



काठमाडौं, २५ वैशाख । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ यतिबेला सिंहदरबार केन्द्रीत भेटघाटमा व्यस्त छन् । उपनिर्वाचनमार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनी पहिलो पटक काठमाडौं आएका हुन् । नवनिर्वाचित सांसद सुहाङले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका रहेको छ ।

सभामुखको सचिवालयका अनुसार, बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा नेम्बाङको शपथ कार्यक्रम राखिएको छ। इलाम २ को उपनिर्वाचनमा सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भारी मतान्तरले हराउँदै संसद्को ढोका खोलेका थिए ।

निर्वाचन आयोगका अनुसार सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का २१ हजार ९ सय ४२ मतसहित दोस्रो भएका थिए। ०७९ मंसिरको आम निर्वाचनमा एमालेबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गत वर्ष भदौमा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । Photo By: Mukunda Kalikote/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot