Logo

चीन र रुसको साथ लिन तालिवान सक्रिय, भेटे विदेशमन्त्री



एजेन्सी, १४ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू-भागमा कब्जा जमाएका तालिवानसँग चीनको सम्बन्ध सुदृढ रहेको खुलेको छ । तालिवानी नेता मुल्ला अब्दुल घानी बाराडारको नेतृत्वको टोली चीन पुगेर त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

तालिवानका नेताले अफगानिस्तानको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको ग्लोबल टाइम्सले लेखेको छ ।

चीनले पनि आफ्नो भूभागमा आतंकवादी गतिविधि गर्दै आएका समूहसँग तालिवानलाई सम्बन्ध तोड्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन पुगेको तालिवानी नेतासहितको टोलीलाई त्यसबारे ध्यानाकर्षण गराएको ग्लोबल टाइम्सले लेखेको छ । चीनले इष्ट टुर्किस्थान इस्लामिक मुभमेन्टसँग सम्बन्ध तोड्न आग्रह गरेको हो ।

यसअघि तालिवानी नेतासहितको टोली रुस पुगेर भेटघाट गरेको थियो । तालिवानले पछिल्लो समय रुस र चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको सन्देश गएको छ ।

अफगानिस्तानबाट अमेरिकीसहित पश्चिमा सेना फिर्ता भएपछि तालिवानले प्रभाव बढाउँदै लगेको छ । यही परिस्थितिमा तालिवानले रुस र चीनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ ।

तालिवानका प्रवक्ता सुहेल सहिनले दिस वीक इन एशियामा अन्तवार्ता दिदै चीनलाई अफगानिस्तानको मित्र भनेका छन् । उनले चीनमा सक्रिय पृथकतावादी उइगुर समूह र अलकायदाको गतिविधिलाई रोक्न भूमिका खेल्ने समेत बताएका थिए ।

तालिवानले प्रभाव बढाउँदै जाँदा चीनले आफ्नो देशमा सक्रिय मुसलमान बाहुल्य क्षेत्रका पृथकतावादी समूह बलियो हुनेतर्फ गम्भीरता देखाइरहको छ । चीनको आशंका मेट्न तालिवानी टोली सिनजाङ पुगेर चिनियाँ विदेशमन्त्रीलाई भेटेको छ ।-Photo Credit: Chinese FM



प्रतिक्रिया दिनुहोस्