Logo

भदौ १६ मै महाधिवेशनको उद्घाटन गर्न चाहन्छुः देउवा



काठमाडौं, साउन १६ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो¥याएका छन् । उनले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गरे ।

पछिल्लो समयमा कांग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।

नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिए । उनले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुङ्गो लगाउने बताए ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भने । प्रधानमन्त्री बैठकबाट बाहिरिए पनि अन्य नेताहरू लामो समयसम्म बैठकमा व्यस्त रहे । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot