Logo

घट्न थाले फोरजी इन्टरनेटका प्रयोगकर्ता



काठमाडौं, साउन १७ । पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को ११ महीना (जेठ मसान्तसम्म)को तथ्यांकअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेका छन् ।

वैशाख मसान्तसम्ममा फोरजीका ७६ लाख ९७ हजार ८६३ जना प्रयोगकर्ता रहेकोमा जेठमा घटेर ७६ लाख ६४ हजार ४५९ मा सीमित छन् । गत वैशाखकोे तुलनामा जेठमा फोरजीका प्रयोगकर्ता ३३ हजार ५०४ जना घटेका छन् ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका छन् ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भने २१ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग वैशाखसम्ममा २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकोमा जेठमा २७ लाख ७ हजार ४२९ जना पुगेको प्राधिकरणले बताएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्ममा स्मार्टका प्रयोगकर्ता २ लाख ६ हजार ३९३ जना थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक छन् ।

सोही अवधिमा जनसंख्याको ९१ प्रतिशतको पहुँचमा इन्टरनेट सेवा पुुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार जेठसम्ममा २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाखको तुलनामा जेठमा ३ लाख ३१ हजार ४२२ प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा २ करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot