उदयपुर, साउन १७ । जिल्लाको कटारी नगरपालिका–४, मरुवा क्षेत्रमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको विषयलाई लिएर स्थानीयवासीले पुनः अवरोध गर्न सुरु गरेका छन् ।
स्थानीयवासीले उक्त क्षेत्रमा प्रसारण लाइनको रेखा परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए तर जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको निर्माणमा अवरोध गर्न नपाउने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी निर्माणको कामलाई तीव्रता दिइँदै आएको छ ।
कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम तीन वर्षदेखि रोकिँदै आएकामा गृह मन्त्रालयको आदेशअनुसार स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन पहिलेबाट योजना सुचारु गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । किसानले धान रोपेको जग्गामा आयोजनाले सुरक्षाकर्मीको बलमा टावर निर्माण गर्न थालिएपछि विरोध प्रदर्शन गर्दै शनिबार कटारी बजार बन्द गरेको नेपाली काँग्रेस कटारी नगर सभापति गोपी पराजुलीले बताए ।
आयोजनाले ओगट्ने सो क्षेत्रको ऐलानी जग्गाको प्रतिकट्ठा १९ लाखको दरले मुआब्जा दिने सरकारले निर्णय गरेको तर नम्बरी जग्गाको भने २०७५ सालमा गरिएको मूल्याङ्कनअनुसार प्रतिकट्ठा १० लाख रुपियाँ मात्रै कायम गरिएकाले ऐलानीभन्दा पनि नम्बरीको मूल्याङ्कन कम भएकाले आन्दोलन गर्नुपरेको उनको भनाई छ ।
विवाद समाधान गर्न नब्बरी जग्गाको मूल्याङ्कन अद्यावधिक गरेर पुनः मुआब्जा निर्धारण गर्ने भनी गृह र ऊर्जा मन्त्रालयमा पछिल्लो पटक टोली जाँदा आश्वासन दिइएको भए पनि आयोजनाले त्यसो नगरी प्रहरीको बलमा काम अघि बढाएकाले रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।