Logo

धनमाल चोरी गर्ने ३ जना पक्राउ



बर्दिया, १७ साउन । विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नर बहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।

उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी ल्याएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ लाख ५० हजार नेपाली रुपैयाँ र उक्त गहना सहित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

साथै उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्