Logo

इतिहास : पृथ्वीनारायण शाहले यसरी भाइ दलमर्दनलाई पाटनको राजा बनाए



हेमन्त बुढाथोकी : योगप्रकाश मल्लको मृत्युपछि पाटनका छ प्रधान/काजीहरुले राजा योगनरेन्द्र मल्लको भान्जी पुण्यवतीकी छोरा विष्णु मल्ललाई पाटनको राजा बनाए । विष्णु मल्ल कान्तिपुरका राजा जगज्जय मल्लका ज्वाइँ थिए । विष्णु मल्ल निःसन्तान भएकाले उनको मृत्युपछि वि.सं. १८०२ मा कान्तिपुरका राजा जयप्रकाश मल्लका भाइ राज्यप्रकाश मल्ललाई पाटनको गद्दीमा राखे ।

आफ्ना दाजु जयप्रकाशको डरले आफ्नो ज्यान जोगाई भागेर राज्यप्रकाश मल्ल पाटनका राजा विष्णु मल्लको शरणमा आएका थिए । नरम, सरल स्वभाव, प्रजाका कुरामा साह्रै ध्यान राख्ने यिनी कान्तिपुरका राजा जगज्जय मल्लका छोरा थिए । कान्तिपुर दरबारभित्र यिनले समर्थन पाए पनि दाजु जयप्रकाशको कूटनीतिमा टिक्न नसकी यिनले पाटनमा शरण लिनुपरेको थियो ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरी उपत्यकामा नाकाबन्दी गर्न लागेको देखेर पाटनका राजा राज्यप्रकाश गोरखासँग मित्रता राख्ने प्रयासमा लागे । तर यो प्रयास विफल भई तत्कालीन पाटन राज्य अन्तर्गत रहेको कीर्तिपुरमा पृथ्वीनारायण शाहले वि.सं. १८१४ जेठ १९ गते पहिलो पल्ट आक्रमण गरे । तर कान्तिपुरका राजा जयप्रकाश र पाटनका राजा राज्यप्रकाश मिली गोरखालीहरुलाई हराए । राजा राज्यप्रकाश मल्लको धार्मिक कार्य तथा निमाण कार्यदेखि दुनियाँको आँखामा विश्वासको लहर लच्किँदै आयो जसले गर्दा काजीहरु त्रस्त भए र अर्कै राजाको खोजीमा लाग्न थाले । त्यस्तैमा सैनिकसँग झगडाको फाइदा उठाएर काजीहरुले राजा राज्यप्रकाश मल्लको दुवै आँखा फोडी दुवै आँखा कानो बनाइदिए । आँखाको शोकले दुःखी भई ने.सं. ८७८ आश्विन सुदीमा यिनका प्राणान्त भयो ।

राज्यप्रकाश मल्लको मृत्यु भएकै दिन प्रधानमध्येका शक्तिशाली प्रधान भिख्वाल धनकाजीले १८ वर्षका विश्वजित मल्ललाई पाटनको राजा बनाए । विश्वजित मल्ल विष्णु मल्लकी छोरीका छोरा थिए । उनलाई त्यस अघि नै दरबारभित्र डिठ्ठा दर्जामा भर्ना गरी भित्रै खुवाई पिलाई राखिएको थियो । विश्वजितलाई पाटनका काजीहरुले हातमा खेलाइरहेका थिए । विश्वजित राजा भएपछि उनीमाथि षड्यन्त्र रच्न शुरु गरियो । एक वंशावली अनुसार काजी कालिदासकी छोरी मैजुथकुको विवाह चाकुबहालका काजीको छोरासँग भएको थियो । तिनै मैजुथकुलाई राजा विश्जजितले विवाह गरे । त्यसै रिसमा राजा विश्वजितलाई मैजुथकुको श्रीमान् र सालो मिलेर तलेजुमा लगी काटेका थिए ।

अर्को एक भनाइ अनुसार विश्वजित मल्लको एक काजीको पत्नीसँग विवाह गरेकाले त्यतिखेरको जार काट्ने चलन अनुसार उक्त प्रधानले विश्वजितलाई मारेका थिए । तर राज्यमा हैकम चलाउन र राजा फेर्न सिपालु छ प्रधानहरुले राजा विश्वजितलाई मिथ्या आरोप लगाइ मारेको हुन सक्ने समेत इतिहासकारहरुको अनुमान छ ।

आफ्ना भाइलाई आँखा फुटाएर मारेकाले जयप्रकाश मल्ल पाटनका प्रधानसँग अत्यन्त रिसाएका थिए । त्यसैले ६ प्रधानहरु जयप्रकाश मल्ललाई फकाएर पाटनको राजा वनाउन चाहन्थे । त्यस्तै विश्वजित मल्ललाई काटेको समयतिरै गोरखाको राजा पृथ्वीनारायण शाहले ललितपुर राज्य अन्तर्गतका केही गाउँहरु दखल गरेका थिए । त्यसैले पाटनको ६ प्रधानहरु पनि संकटमा परे । त्यसपछि प्रधान काजीहरुले जयप्रकाश मल्ललाई अनुरोध गरी पाटनका राजा बनाए । राजा जयप्रकाशको कडा स्वभावले ६ प्रधानसँग यिनको सम्बन्ध राम्रो हुन सकेन । जयप्रकाश मल्ल पाटनको गद्दीमा बसेको डेढ वर्षपछि टेकु दोभानमा नुहाउन गएको बखत प्रधानहरुले उनलाई लखेटिदिए ।

भादगाउँका राजा रणजित मल्ललाई राजा जयप्रकाश मल्लपछि पाटनको राजा बनाइयो । उनलाई राजा बनाएपछि उनको नाममा मुद्रा पनि निकालियो । तर राजा रणजीत मल्लले पाटनको समस्यामा भन्दा भक्तपुरकै समस्यामा ध्यान दिन थाले । त्यसलेगर्दा उनको ६ प्रधानहरुसँग मतभेद हुन थाल्यो । त्यस्तै रणजीत मल्लले अनेक प्रशासनिक सुधार गरेर प्रधानहरुको अनियन्त्रित क्रियाकलापमा नियन्त्रण गर्ने प्रयत्न गरे । रणजीत मल्लले जयप्रकाश मल्ललाई अपमानित गरेर बनाएको बदला लिन चाहन्थे ।

त्यस्तै कान्तिपुरका राजा जयप्रकाश मल्ल, रणजीत मल्ल र पाटन राज्यसँग र प्रधानहरुसँग रणजीत मल्ललाई पाटनको राजा बनाएकाले, कान्तिपुरबाट भागेका भाइ नरेन्द्र प्रकाश मल्ललाई शरण दिएकाले, नुन, तेल र कपासका लागि पाटन राज्यले गोर्खासँग सम्बन्ध राखेकाले, कान्तिपुर केही गाउँ भक्तपुरले हडपेकाले र आफू लाई लखेटी भक्तपुरका राजा रणजीत मल्ललाई पाटनको राजा बनाएकाले निकै रिसाएका थिए । यावत् कारणहरुबाट क्रुद्ध भएका कान्तिपुरे राजा जयप्रकाश मल्ल कुनै हालतमा चुप नबस्ने देखी पाटनका ६ काजीहरुले राजा रणजीत मल्ल शंखमुलमा स्नान गर्न गएको मौका पारी १ वर्ष राज्य गर्दा नगर्दै शंखमुलबाटै भक्तपुरतिर लखेटि दिइ कान्तिपुरका राजा जयप्रकाश मल्ललाई पुनः राजा बनाए ।

राजा रणजीत मल्ललाई भक्तपुरतिर धपाई कान्तिपुरका राजा जयप्रकाश मल्ललाई राजा बनाएपछि गोर्खाका राजा पृथ्वीनारायण शाहले उपत्यकामा आर्थिक संकट उत्पन्न गरिदिई चारैतर्फ विजय प्राप्त गर्दै गरेको देखिन्छ । प्रधानहरुले राजा जयप्रकाश मल्ललाई हटाई पृथ्वीनारायण शाहलाई पाटनको राजा बनाउने विचार गर्न थाले र जयप्रकाश मल्ललाई लखेट्ने मौका हेर्न थाले । यो कुरा थाहा पाएर जयप्रकाश मल्लले आवश्यक सल्लाह गर्ने निहुँमा ६ प्रधानहरुलाई कान्तिपुर बोलाए ।  जयप्रकाश मल्लले ६ वटै प्रधानहरुलाई पक्रिई महिलाको फरियाका टुक्राले ६ वटै प्रधानका टाउकामा फेटा गुथाई (बाँधी) फरिया नै ओढाएर ललितपुर शहर घुमाए । तिनीहरुका श्रीमतीहरुलाई पनि झुत्राझाम्रा कपडा लगाउन लगाई शहर घुमाइयो । अपमान महसुस गरी काजी भिख्याल धनकाजीले आत्महत्या गरे । । बाँकी ५ प्रधानहरुले राज भक्त हनुमान झै भै वफादारीसाथ नुनको सोझो चिनाउनेछौं भनी जयप्रकाश मल्ललाई माफी मागेको बिन्तिपत्र स्वीकारी जयप्रकाशले पाँचै जना काजीहरुलाई मुक्त गरे । तर तिनीहरुले पुनः षडयन्त्र शुरु गरी गोरखाका राजा पृथ्वीनारायण शाहलाई पाटनको राजा हुन निम्त्याए । उक्त कुरा राजा जयप्रकाश मल्लले थाहा पाई प्रतिकूल परिस्थिति देखी कान्तिपुर राज्यमा फर्के । गोरखाका राजा पृथ्वीनारायण शाहले आफू नआई भाई दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाँच प्रधानहरुले सेतो फेटा बाँधी आफैंले आफैलाई अविर हाली शहर घुमे ।

वि.सं.१८२० फागुन ९ गते दलमर्दन शाह पृथ्वीनारायण शाहको प्रतिनिधिको रुपमा पाटनको राजगद्दीमा बसे । यिनको सुरक्षामा पाटनका प्रधानहरुको एक-एक जना पुत्र खुटाएको थियो । पाटनमा रहँदा राजा दलमर्दन शाहले उपत्यकाको एक-एक गतिविधि पृथ्वीनारायण शाहलाई जानकारी गराउँथे । पाँच प्रधानहरुले जयप्रकाश मल्ललाई धपाउन र जयप्रकाश मल्ल पाटन राज्य छाडेर कान्तिपुरमै जानुमा आर्थिक कारण मुख्य थियो । किनकी पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतिरबाट नाकाबन्दी गरिरहेका थिए । उनी पाटन मात्र नभै सम्पूर्ण उपत्यकालाई आफ्नो अधिनमा पार्न चाहन्थे । त्यही राजनीतिक उद्देश्यबाट निर्देशित भएर उनले उपत्यकाको चारैतिरका स्थानहरुमा अधिकार कायम गरी आर्थिक संकट पारिदिए । पाटनका प्रधानहरुले आफू लाई राजा बन्न निम्त्याएपछि उनले उपत्यकाको समग्र कुरा बुझ्न आफ्ना भाइ दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाटनका प्रधानहरुले दलमर्दन शाहको नाममा मुद्रा समेत निष्कासन गराएका थिए ।

काठमाडौं उपत्यकामा संकट पार्न पृथ्वीनारायण शाहले दैनिक उपभोग्य वस्तुहरु नुन, कपास, तेल आदि बन्द गराइसकेका थिए तर प्रधानहरुले दल मर्दनहरुलाई राजा बनाएपछि पाटनेहरुले दैनिक उपभोग्य वस्तुको संकट झेल्न नपर्ने अनुमान गरेका थिए । तर दलमर्दन शाहले हाल पृथ्वीनारायणको योजना अनुसार पाटने प्रधान र प्रजाहरुलाई दैनिक उपभोग्य वस्तुको निर्वाध निर्यातको लागि दाजु पृथ्वीनारायण शाहसँग कुरा गरी पहल गर्ने भनी आश्वासन दिँदै रहे । तर व्यावहारिक रुपमा दैनिक उपभोग्य वस्तु निर्यात हुन सकेन ।

हुन त पाटन प्रधानहरुले राजा दलमर्दन शाहलाई उनका दाजु पृथ्वीनारायण शाहका विरुद्ध प्रयोग पनि गर्न खोजे तर त्यसमा सफल भने भएनन् । त्यस्तैमा वि.सं. १८२२ चैत्र ३ गते गोरखालीहरुले कीर्तिपुरमा विजय गरे । कीर्तिपुर विजयपछि राजा दलमर्दन शाह पाटनमा कैद गरिए । कैद गरिएको केही समयपछि दलमर्दन शाह भागेर दाजु पृथ्वीनारायण शाहसँग मिल्न गए ।

दलमर्दन शाहलाई कैद गरेपछि प्रधानहरुले पाटनका एक व्यापारी तेजनरसिंह मल्ललाई राजा बनाए ।  राजा तेजनरसिंह मल्ल राजा विश्वजित मल्लका सम्धी थिए । उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भुइँचालोहरु गए । अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो । रातको समयमा गोरखालीहरुले कान्तिपुरलाई तिन ठाउँबाट घेरी पृथ्वीनारायण शाह गद्दीमा बसेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल पाटनका राजा तेजनरसिंह मल्लको शरण पर्न पाटन गए । तर पाटनका पाँच प्रधानहरु पृथ्वीनारायण शाहसँग भित्रभित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जयप्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए ।

पाटनका एक प्रधान धनवन्त काजी पृथ्वीनारायण शाहसँग कीर्तिपुर विजय गर्नुभन्दा अगाडि नै मिलिसकेका थिए भनी इतिहासकार श्रीरामप्रसाद उपाध्यायले उल्लेख गरेका छन् । पाटनका राजा तेजनरसिंह मल्ल कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरि बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए । तर पाटन ढोकाबाट भित्र पसी २०० कदम बढ्दा नबढ्दै पाटन नबहिलका ज्यापुहरुले पृथ्वीनारायण शाह र उनका फौजलाई छाना छानाबाट इँटको टुक्राले प्रहार गर्न थाले । उक्त इँट प्रहारबाट छलाई जोगार्ई पाँच प्रधानहरुले पृथ्वीनारायण शाहलाई पाटन राज्यको सिंहासनमा राखी राजा घोषणा गरे । साथै ती प्रधानहरुले राजा पृथ्वीनारायण शाहको ललितपुरमा सिन्दूरे यात्रा गराए । त्यसरी स्वतन्त्र पाटन राज्य गोरखा राज्यको अधिनमा परेपछि स्वतन्त्र पाटन राज्यको विधिवत अन्त्य/पतन हुन गयो ।

इतिहासकार श्रीरामप्रसाद उपाध्यायका अनुसार लगभग पच्चिस वर्षसम्म मनपरी किसिमबाट शासन गरेर कानून र व्यवस्थालाई आफ्नो हातमा लिएर पाटनको स्वतन्त्र अस्तित्वलाई नामेट पार्न भूमिका खेलेकाले मल्ल वंशको पतन गराउनमा तत्कालीन प्रधानहरु जिम्मेवार थिए । उनी थप्छन्, “प्रधानहरुले आफ्नो इच्छाअनुसार राजा फेर्ने, मार्ने शत्रुसँग मिल्ने, छोड्ने नगरेर राष्ट्रलाई सबल बनाउने काममा लागेको भए पाटन राज्यको पतन र दुर्दशा हुने थिएन ।” पाटन राज्यको उत्थान र पतनको इतिहासबाट आधुनिक समयको स्वतन्त्र राज्यहरुले पनि पाठ सिक्न सक्ने थुप्रै कुरा देखिन्छन् ।

त्यस्तै, इतिहासकार बासु पासाले पाटन राज्यको पतनको आन्तरिक पक्षबाट वर्तमान समयमा पनि जो कोहीले पाठ सिक्न सक्ने र सिक्नुपर्ने औल्याउँदै लेख्छन्, “नेपालको इतिहासमा बेलाबेलामा स्वयम् राजकुमार र प्रधान अर्थात् प्रधानमन्त्रीहरु पनि (बाह्य शक्ति) सँग बिकेका छन् । यसको दृष्टान्त ठाउँ ठाउँमा भेटिएको छ ।”



प्रतिक्रिया दिनुहोस्