समाचार विश्लेषण । डा. मोहम्मद नाजिबुल्ला रुसको साथ पाएका अफगानिस्तानका नेता थिए । सन् १९८६ देखि १९९२ मा अफगानिस्तानको राष्ट्रपति बनेका उनी सत्तामा रहँदा रुसले फौज फिर्ता गर्न थाल्यो । आफूपक्षधर नाजिबुल्ला राष्ट्रपति रहेको र उनलाई नै विदेशी फौज फिर्ताको जस दिने गरी रुसले उक्त रणनीति चालेको थियो । अर्कोतर्फ, शितयुद्धले विश्व शक्ति सन्तुलनमा फेरबदल आएपछि रुस अफगानिस्तानमा थप नोक्शानी भोग्न चाहिरहेको थिएन ।
रुसी फौजन फिर्ता भएपछि नाजिबुल्ला सत्ताबाट हटे । इस्लामिक मुजाहिद्दीनहरुले अफगानिस्तानमा नियन्त्रण कायम गरे । नाजिबुल्ला संयुक्त राष्ट्रसंघको काबुलस्थित मुख्यालयमा शरण लिन पुगे । उनी भारतमा शरण लिन चाहे । तर, तत्कालीन शासकले त्यो छुट दिएनन् ।
कुनैबेला उनकै विश्वासपात्र अब्दुल रसिद दोस्तमले नै धोका दिए । दोस्तम अहमद शाक मसुदसँग मिले । उनीहरुले काबुल विमानस्थलमा कब्जा जमाएका थिए । एयरपोर्टबाट नाजिबुल्लालाई अर्को मुलुकमा जान छुट दिएनन् । संयुक्तराष्ट्रसंघले नाजिबुल्लालाई विदेश पुर्याउन संवाद जारी राख्यो ।
काबुलस्थित भारतीय दूतावासमा शरण दिन भारतले पनि स्वीकार गरेन । जसका कारण उनी संयुक्तराष्ट्रसंघको काबुलस्थित भवनमा शरण लिन पुगेका थिए । भारतले सन् १९९४ मा एम. के. भद्रकुमारलाई दूतका रुपमा पठाएर तत्कालीन अफगानिस्तानका रक्षामनत्री अहमद शाह मसुदसँग वार्ता गर्यो । मसुदसँगको वार्तामा भारतसम्म जान दिने गरी भएको वार्ता असफल भए । मसुद तयार भएनन् ।
सन् १९९६ को सेम्टेम्बरमा तालिवान काबुल प्रवेशको क्रममा थिए । मसुदले नाजिबुल्लालाई काबुल छाड्ने अवसर सृजना गर्न तयार भए । तर, नाजिबुल्ला तयार भएनन् । उनी किन तयार भएनन् भन्नेबारे भिन्न मत छ । मसुदबाट उनी विश्वस्त हुन नसकेको या आफ्नो समुदाय पस्तुन्सको नजरमा कायर हुने भएकाले नगएको भन्नेहरु पनि छन् ।
तालिवान काबुल पसे । २६ सेम्टेम्बर सन् १९९६ मा नाजिबुल्ला र उनका भाई साहपुरलाई राष्ट्रसंघको भवन परिसरभित्र घिसारेर निकाले । दुवैको निर्ममतापूर्वक हत्या गरे । उनीहरुको शवलाई ट्रकमा राखेर घिसारे । उनीहरुको शव ट्राफिक लाइटको पोलमा झुण्ड्याइयो । दुई दिनसम्म शव निकाल्न दिइएन । यसका लागि राष्ट्रसंघले ठूलो प्रयास गरेर सफलता हासिल गरेको थियो ।
नाजिबुल्लाको हत्यामा अमेरिकाको सहयोग पाएको पाकिस्तानको भूमिकाको विषय उठिरह्यो । सोभियत संघको साथ र भारतसँग नजिकको सम्बन्ध रहेका नाजिबुल्लाको पतन हुँदै गर्दा पाकिस्तानको साथ पाएको तालिवान सत्तामा पुगेको थियो । त्यतिबेला अमेरिकाको पाकिस्तानसँग सुमधुर सम्बन्ध थियो । अमेरिकाले पाकिस्तानको माध्यमले तालिवानलाई भित्री साथ दिएर सोभियत संघलाई अफगानिस्तानमा कमजोर पार्न सकेको थियो ।
जसरी अफगानिस्तानको गृहयुद्धको बहानामा तत्कालीन सोभियत संघको फौज त्यहाँ पस्यो त्यसरी नै अमेरिकासहित नेटोका सौनिक प्रवेश गरे । तालिवानको पतनसँगै नयाँ परिस्थिति विकास भयो । अमेरिकी साथमा सरकार चलिरह्यो । तर, विश्वको बदलिएको शक्ति सन्तुलनले अफगानिस्तानमा अमेरिकी प्रभाव कमजोर हुँदै गयो । अमेरिकासहित पश्चिमा फौजले अफगानिस्तान छाडेका छन् । त्यो रिक्ततामा फेरि तालिवान शक्तिशाली बनेको छ ।