Logo

मन्त्री निवास निर्माणमा तीव्रता



ललितपुर, साउन २१। आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।

निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ । कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचन अगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गर्ने गरी काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री निवासको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत तथा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणको भौतिक प्रगति ५८ प्रतिशत रहेको छ । अहिले प्राविधिक र श्रमिक गरी दैनिक दुईरदुई सय जनशक्ति कार्यरत छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीय मन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ ।

त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज २७ गते निर्माण सम्झौता भएको थियो । यस आवास क्षेत्र निर्माणको कुल लागत ७३ करोड ४७ लाख रुपियाँ छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खवर लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्