Logo

देउवा सरकारमा गइँदैन, जाँदैनौंः एमाले नेता ठाकुर गैरे



काठमाडौं, साउन २३ । नेकपा एमालेका नेता ठाकुर गैरेले माधव नेपाल पक्ष पार्टीलाई एकताबद्ध गर्नुपर्ने निष्कर्ष पुगेकाले सरकारमा नजाने निश्चित भएको बताएका छन् । माधव नेपाल पक्षको केन्दीय समिति र स्थायी समिति बैठकमा सरकारमा जाने कुराले प्रवेश नै नपाएको गैरेको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम नेपाली बहसका निम्ति पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले भने, ‘यसपटक केन्दीय समिति र स्थायी समितिको बैठकमा शेरबहादुर देउवा सरकारमा सहभागी हुने नहुनेबारेमा कुनै एजेन्डा थिएन । व्यक्तिगत रुपमा केही साथीहरुले सरकारमा जानुपर्छ भन्ने बारेमा बोले पनि अहिले हामी पार्टी एकताको पक्षमा सर्वसम्मत रुपमा उभिएका छौं । हामी सरकारमा गइँदैन, जाँदैनौं । र, पार्टी फुट्न पनि दिँदैनौं ।’

नेता गैरेले पार्टीको बैठक कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने, समाजवादी आन्दोलनलाई बलियो बनाउने, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताको पक्षमा उभिने, संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रलाई सुदृढ बनाउनका लागि नेकपा एमालेको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेको पनि बताए ।

‘हामी विभाजनको संघारमा पुगेका हौं । यो यथार्थ हो । एकतर्फी गतिविधिले त्यस आशंकालाई बढाएको पनि छ । विभिन्न फोरममा प्रयोग भएका भाषा शैली, आरोप प्रत्यारोपले स्वाभाविक रुपमा एकता सम्भव छैन भन्ने पनि संशय छन्,ू उनले भने, ूदुवै पक्षको सामेल कार्यदलको १० बुँदेमा सहमतिमा टेकेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच व्यवस्थित छलफल गरेर सबै पार्टी निर्माणमा अघि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

गैरेले एमाले एकताबद्ध नहुने हो र मिलेर बस्न तयार नहुने हो भने नेपालको आन्दोलन र उपलब्धि समाप्त हुने परिस्थिति आउने भएकाले हिजोको अडानबाट दुवै पक्ष एक एक कदम पछाडि हट्न तयार हुनुपर्छ भन्ने कार्यकर्ता, शुभचिन्तकको चाहना रहेको पनि औंल्याए ।

माधव नेपाल पक्षमा जसरी पनि मिल्नुपर्छ र केपी ओलीसँग मिलेर बस्न सकिँदैन भन्ने दुई धार देखियो नि भन्ने धमलाको प्रश्नमा गैरेले भने, ‘छलफल, बहसका क्रममा विभिन्न खाले विचार आउँछन्, तापनि एकताको पक्षमा सर्वसम्मत निर्णय आयो । केन्द्रीय समितिको बैठकले एकतालाई आजको आवश्यकता ठान्यो, अपरिहार्य छ भन्यो । केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मा दिएको छ । ताली एक हातले बज्दैन । दुवै हात चाहिन्छ । अब दुवै हातलाई ताली बजाउन तयार गर्नुपर्छ । हामी एकीकृत कम्युनिस्ट पार्टी बनाउने अभियानमा लाग्छौं ।’

माधवकुमार नेपालले व्यक्तिगत रुपमा यो चाहियो, त्यो चाहियो नभनेको बरु विचार र विधिप्रधान पार्टी बनाउन खोजेको उनले स्पष्ट पारे । उनले भने, ‘माधव कमरेडले ६ बुँदे एकताको प्रस्तावमा आधारित भएर नै १० बुँदे सहमति भएको हो । यसबारे अनेकन बुझाइ थिए । अहिले समान धारणा बनेको छ । त्यसलाई टेकेर कार्यान्वयनको सुनिश्चिततासहित एकता प्रक्रियामा अघि बढ्ने पक्षमा हामी छौं । १० बुँदे पछि उत्पन्न परिस्थितिमा कार्यविभाजन, जिम्मेवारी हेरफेर र केन्द्रीय समितिको बैठक र एजेन्डा सहमतिमा तोक्ने कुरा भएको छ ।’



प्रतिक्रिया दिनुहोस्