Logo

कथा : वासित



सआदत हसन मन्टो : यसमा वासितको कुनै स्वीकृति थिएन । तर आमासामु उसको कुनै पनि बहानाले काम गर्न सकेन । पहिलो कुरा त उसलाई यति चाँडै बिहे गर्न रत्तिभर मन थिएन । अर्को कुरा, आमाले रोजेकी त्यो केटी पनि मन परेकी थिइन उसलाई । धेरै दिनसम्म उसले आलटाल गरिरह्यो । जति बहाना बनाउन सक्थ्यो, बनायो । तर अन्ततः एक दिन आमाको अटल चाहनासम्मुख उसले आत्मसमर्पण गर्नैपर्यो ।

वास्तवमा ऊ आफै पनि विवाहबाट पन्छिँदा पन्छिँदा दिक्क भइसकेको थियो । त्यसैले उसले पनि सोच्यो, “आमाको सधैंको यो कचकच त सकिएला, हुन दिऊँ बिहे । बिहे गर्दैमा आकाश खस्ने या धर्ती फाट्ने पक्कै नहोला… जे जसरी भए पनि वैवाहिक जीवन अगाडि बढाउँला नि ।”

छोराले बिहेका लागि ‘हुन्छ’ भनेसँगै आमा खुसी हुनुहुन्थ्यो । केटीका परिवारवाला आमाका प्रिय मान्छे थिए र आमाले धेरै अगाडि बिहेका लागि वचन दिनुभएको थियो । वासितले बिहेका लागि हुन्छ भनेपछि उहाँ केटी पक्षका घर बिहेको तिथिमिति तय गर्न जानुभयो । केटी पक्षले अनावश्यक आनाकानी गर्न थाल्यो । आलटाल गरेको देखेर वासितको आमालाई रिस उठ्यो, “सइदाकी आमा ! कम्ता गाह्रो गरी मनाएकी हुँ वासितलाई बिहेका लागि ! अब तिमीहरू बिहेको तिथिमिति निर्क्र्योल गर्नुको साटो आलटाल गर्दैछौ । बिहे गर्ने नै हो भने यही महिनाको बीस तारेखको दिन पक्का गरौं । नत्र यो बिहे हुन्न । यो कुरा तिमीहरूले राम्ररी बुझ्नू !”

त्यो धम्कीले काम गर्यो । अन्ततः केटीकी आमा पनि बिहेका लागि तयार भइन् । विवाहका सबै प्रक्रिया पूरा गरिए । बीस तारेखका दिन दुलही घरमा थिई । वासितलाई आफ्नी दुलही मन परेकी थिइन । तर अब जे जस्तो भए पनि वैवाहिक जीवनका दायित्व त पूरा गर्नु थियो नै । त्यसैले ऊ दुलहीसँग प्रेमपूर्वक नै प्रस्तुत भयो । वासित आफू यो विवाहका लागि मनैबाट तयार थिएन र यो जबर्जस्ती उसको टाउकोमा थोपिरिएको हो भन्ने कुराको उसले दुलहीलाई अनुभूति हुनै दिएन ।

नयाँ दुलहीहरू सामान्यतः बढी लजालु हुन्छन् तर सइदाको मामिलामा वासितले अलिक बढी नै लजालु भएको महसुस ग¥यो । उसको यो लजालुपनमा केही डर पनि थियो । वासितसँग डराएजस्तो डर ! सुरुसुरुमा वासितलाई लाग्यो कि यो डर र लजालुपना कम हुँदै जानेछ । तर यो डर निरन्तर बढिरह्यो ।

वासितले केही समयका लागि उसलाई माइत पठाइदियो । फर्केर आउँदा उसको डरसँग मिसिएको लजाजुपन एक हदसम्म कम भइसकेको थियो । एकदुई पटक अरु माइती पठाइयो भने सबै ठीक हुँदै जानेछ भनी वासितले सोचेको थियो । तर उसको यो अनुमान गलत साबित भयो । सइदा फेरि पनि डराए डराएजस्तो हुन थाली ।

वासितले एक दिन सोध्यो पनि, “सइदा, तिमी जहिले पनि डराएजस्तो किन देखिन्छ्यौ ?”

प्रश्न सुनेर सइदा अकमक्क परी, “होइन, त्यस्तो केही छैन ।”

वासितले मायालु स्वरमा उसलाई भन्यो, “के छ समस्या… मलाई अप्ठेरो अप्ठेरो लागेको छ । के कुराले डराएकी छौ तिमी ? आमा यति राम्री हुनुहुन्छ… आमाले सासूको कडा व्यवहार गरेजस्तो त लाग्दैन । म पनि तिमीलाई माया नै गर्छु । र, पनि तिम्रो अनुहार हेर्दा जति बेला पनि डरले कालोनीलो भएजस्तो देखिन्छ । कसैले मलाई पिट्छ कि भन्ने डरको भावना छ जस्तो लाग्छ तिम्रो मनमा ।” यत्ति भनेर उसले सइदाको गालामा चुम्बन ग¥यो ।

सइदा मौन रही । उसका आँखामा भय अझ बढी प्रगाढ भएर देखियो ।

वासितले प्रेमपूर्वक उसको गाला मुसार्दै भन्यो, “तिमी त जति बेला पनि हँसिलो देखिनुपर्छ… ल अब अलिकता हाँसेर देखाऊ… मेरी प्यारी बूढी ।”

सइदाले हाँस्ने कोसिस गरी । वासितले माया गरी उसको काँध थपथपायो, “स्याबास ! यसरी नै मुस्कुराउँदो मुहार हुनुपर्छ जति बेला पनि !”

वासितले प्रकट गरेको यो माया केवल बनावटी थियो किनकि सइदाका लागि उसको मनमा माया नै थिएन । तर आमाको खातिर उसले सइदालाई खुसी राख्न चाहन्थ्यो । सइदासँग उसको वैवाहिक जीवन असफल बनाउन चाहन्नथ्यो । आमाले आपूmले वासितको बिहे गरिदिएर गल्ती गरें कि भनी अफसोस मानेको ऊ हेर्न चाहन्नथ्यो ।

वासित आपूmले जीवनमा पराजयको मुख देख्नु परेको थिएन ।  त्यसैले उसको भित्री इच्छा केही गरी सइदासँग वैवाहिक जीवन ठीक ढङ्गले चलोस् भन्ने नै थियो । यही कारणले उसले मनमा सइदाको लागि बिस्तारै प्रेम उमारेको थियो । सइदाको सुखसुविधाको ध्यान राख्थ्यो । आमासँग सइदाको साना साना कुराको पनि प्रशंसा गर्थ्र्यो । जब आमालाई ‘आफूले वासितको बिहे राम्री केटीसँग गराएको’ कुराले सन्तुष्ट भएको देख्थ्यो, आमाको खुसी देखेर उसको मन पनि गद्गद हुन्थ्यो ।

बिहे भएको एक महिना पुग्यो । यसबीच सइदा कैयौं  पटक माइती गई । वासितलाई यसबारे कुनै गुनासो थिएन । सइदाको लजालुपनले भरिएको डर पनि बिस्तारै निवारण हुँदै जानेछ भनी वासितलाई विश्वास थियो । तर त्यस्तो भएन । यो डर दिनहुँ बढ्दै गयो ।

अब त सइदा झनैं भयक्रान्त पो देखिन थाली । वासित हैरान थियो । आखिर यस्तो डरको कारण के थियो ? यस विषयमा उसले आमासँग कुनै कुरा गरेन । उसलाई आमाले उल्टै आफूलाई हप्काउनुहुन्छ भन्ने डर थियो, “के बकवास गर्छ ? मलाई थाहा थियो के, सइदाको दिमागमा पनि तैंले किरा पसालिस्, हैन त ?”

वासितले सइदालाई नै भन्यो, “ए मेरी बूढी ! तिमी मलाई त भन कम्तीमा ! के कति कारणले हो जति बेला पनि डराएजस्तो देखिने ?”

सइदा झस्किई, “हजुर !?”

वासितलाई सइदा झस्किएको देखेर सइदाको काटिएको कुनै घाउमा नुन छर्किदिएजस्तो अनुभूति भयो । बोलीमा अझै मिठास भरेर उसले भन्यो, “तिमी झन् बढी डराएजस्तो देखिन थाल्यौ के ? के कारणले हो यस्तो ?”

सइदाले अकमकिएर जवाफ दिई, “त्यस्तो खास कुरा त केही छैन… मलाई सन्चो छैन ।”

“के बिरामी हो त्यस्तो … तिमीले यसबारेमा मलाई कहिल्यै केही भनिनौ ?”

सइदाले दुपट्टाको किनारमा औंला लटपटाउँदै जवाफ दिई, “आमाले उपचार गराइरहनुभएको छ मेरो । चाँडै ठीक हुन्छु होला ।”

वासितले अब सइदाको विषयमा अलिक बेसी चासो लिन थाल्यो । उसले सइदाले दैनिक लुकीछिपी कुनै औषधि खाने गरेको थाहा पायो । एक दिन सइदाले तालाबन्द बाकसबाट औषधि झिकेर खाँदै गर्दा वासित ऊ नजिकै गयो । सइदा नराम्ररी झस्किई । कुनै धूलो चूर्णको पोको उसको हातबाट चिप्लेर भुइँमा खस्यो । वासितले सोध्यो, “यो औषधि खान्छौ तिमी ?”

सइदाले थुक निल्दै बिस्तारै भनी, “हजुर … आमाले हकीम साहबको औषधि पसलबाट ल्याइदिनुभएको हो ।”

“केही फरक प¥यो यस औषधिको सेवनबाट ?”

“हजुर !”

“उसो भए ठीक छ । खाऊ । त, कुनै फरक परेन भने मलाई भन्नू । म तिमीलाई डाक्टरकहाँ लैजाउँला ।”

सइदाले भुइँमा खसेको चूर्ण उठाई र टाउको हल्लाउँदै भनी, “हुन्छ ।”

वासितले सोच्यो, “ठीकै छ । कुनै उपचार त भइरहेको छ आखिरकार । भगवान्ले चाहे भने चाँडै सन्चो पनि हुनेछ । यो ‘डर–भय’ केही पनि होइन । सायद कुनै रोग हो… निवारण पनि भइहाल्ला ।”

उसले सइदाको यस रोगका बारेमा पहिलो पटक आमासँग कुरा गर्यो । “बकवास कुरा गर्छ । भगवान्को कृपाले कति राम्री छ । के रोग छ उसलाई ?”

वासितले भन्यो, “मलाई के थाहा आमा ? यो कुरा त सइदा आपंैmले मात्र भन्न सक्छे ।”

आमाले लापरबाह बोलीमा भन्नुभयो, “म सोधुँला उसलाई ।”

सइदासँग जब आमाले यस विषयमा जान्न खोज्नुभयो तर उसले भनी, “त्यस्तो केही छैन आमा । टाउको दुखेको मात्र हो । आमा (माइती आमा) ले हकीम साहबको औषधि पसलबाट दबाई ल्याइदिनुभएको थियो । साँच्चै भन्ने हो भने वासित साहबको साह्रै शङ्कालु बानी छ … जति बेला पनि ‘तिमी त डराए डराएजस्तो देखिन्छौ’ भनिरहनुहुन्छ । मलाई के कुराको डर होला र ?”

वासितकी आमाले भन्नुभयो, “बकवास गर्छ त्यसले । तैंले त्यसको बेकारका कुरामा ध्यान नदिएस् ।”

केही दिनपछि वासितले सइदालाई झनै बढी डराएको अवस्थामा देख्यो । उसको व्याकुलता शरीरको अङ्गअङ्गबाट प्रस्ट झल्किन्थ्यो । साँझ हुँदै गर्दा उसले वासितलाई भनी, “आमालाई भेट्न मन छ । मलाई माइती छोडेर आउनू न ।”

वासितले जवाफ दियो, “नाइँ सइदा । आज तिम्रो स्वास्थ्य ठीक देखिन्न ।”

सइदाले अनुरोध गरी, “तपाईंले मलाई छोडेर आउनुहोस् । म त्यहाँ पुगेपछि सन्चो भइहाल्छु ।”

वासितले इन्कार ग¥यो, “उता गएर ठीक हुने स्वास्थ्य यहाँ किन ठीक हुन्न ? जाऊ भित्र गएर आराम गर ।”

यत्तिकैमा वासितकी आमा पनि आउनुभयो । वासितले आमालाई भन्यो, “हेर्नुहोस् न आमा, सइदाले जिद्दी गर्दैछे । उसको स्वास्थ्य ठीक छैन तैपनि माइती छोड्दिनू भन्दैछे ।”

वासितकी आमाले लापरबाहीका साथ भन्नुभयो, “भोलि जाँदा भयो नि त सइदा ।”

सइदाले केही पनि भनिन । मौन भएर बाहिर आँगनमा आई । केही समयपछि वासित बाहिर निस्कियो । सइदा आँगनमा थिइन । उसले सइदालाई यताउति खोज्यो तर भेटेन । वासितले माथि कोठामा पो छे कि भन्ने सोच्यो । माथि गएर हेर्दा बाथरुमको कोठा बन्द थियो ।

ढोका ढकढकाएर उसले बोलायो, “सइदा !”

कुनै जवाफ आएन । फेरि बोलायो, “सइदा !”

भित्रबाट मधुरो आवाज आयो ,“हजुर !”

वासितले सोध्यो, “के गर्दै छौ ?”

झनै मधुरो आवाज आयो, “नुहाउँदै छु ।”

यसपछि वासित तल ओर्लियो । सइदाको बारेमा सोच्दासोच्दै बाहिर गल्लीमै निस्कियो । ढलनजिकै उसले रगतै रगत बगेको देख्यो र यो रगत बाथरुमबाट आइरहेको थियो जुन बाथरुममा सइदाले नुहाउँदै थिई । अकस्मात् वासितको दिमागमा एकै  पटक हजारौं सोच उफ्रिन थाले । अनि दोहोरिन थाले उसको दिमागमा, “औषधि …रगत…रगत..औषधि…डर…औषधि…रगत…डर !”

अनि उसले बिस्तारै बिस्तारै सोच्न थाल्यो । सइदाकी आमाले बिहेको तिथिमिति तोक्न आनाकानी गरिरहेकी थिइन् । उनले दुई–एक महिना पर्खन भन्दै थिइन् । सइदा बारम्बार आफ्नी आमालाई भेट्न गइरहन्थिन् । ऊ जतिबेला पनि डराए डराएजस्तो देखिनु, औषधि खानु अनि आजैको दिन अझ बढी भयाक्रान्त हुनु !

वासितले सबै कुरा स्पष्ट बुझ्यो । दुलही भएर उसको घरमा भित्रिँदा सइदा गर्भवती थिई । सइदाकी आमाले सइदाको गर्भपात गराउने कोसिस गरिरहेकी थिइन् । र, आज गर्भपात भइछोड्यो । वासितले सोच्यो, “के म माथि जानुपर्छ र सइदालाई हेर्नुपर्छ… आमासँग यस विषयमा कुरा गरुँ कि ?”

आमाको ख्याल आउन बित्तिकै उसलाई लाग्यो कि आमाले यो चोट सहन सक्नुहुन्न । आफ्नै छोराको आँखामा अपमानित हुन आमालाई स्वीकार्य हुँदैन । आमाले केही खाएर मर्नुभयो भने ?! त्यसपछि उसले कुनै निर्णय गर्न सकेन । आफ्नो कोठामा गयो र टाउको समातेर बस्यो ।

सइदाको अवस्था के कस्तो होला भनी उसलाई चिन्ता पनि लाग्यो । उसको तनमनमा के कस्तो असर परेको होला भनी उसले सोच्यो । यति ठूलो रहस्य उसले कसरी लुकाउँछे ? मान्छेले यो कुरा थाहा नपाउलान् त ?

सइदाको बारेमा सोच्दासोच्दै वासितको मनमा उसप्रति सान्त्वनाको भावना बढ्न थाल्यो । सइदाप्रति उसलाई दया पलाउन थाल्यो, “बिचरी, बेहोस छ कि होसमा छ ? होसमा भए पनि उसको अवस्था के कस्तो होला… तल झर्न सक्छे होला ऊ ?”

केही बेरपछि जब ऊ आँगनमा पुग्यो । सइदा पनि तल आइसकेकी थिई । उसको अनुहार कालोनीलो भएको थियो । यति कालो नीलो कि ऊ मूर्दाजस्तो देखिन्थी । हिँड्न पनि गाह्रो भइरहेको थियो उसलाई । खुट्टा लडखडाइरहेका थिए । कम्मरमा मानांै ताकत छँदै थिएन । उसलाई देखेर वासितलाई साह्रै दया लाग्यो । दौडिदै भित्र गयो र सइदाको बुर्का ल्याइदियो र भन्यो, “हिँड, म तिमीलाई माइती छोड्दिन्छु ।”

सइदाले धैर्यतापूर्वक काम गरी । वासितसँग हिँडेर बाहिर सडकसम्म आई । वासितले एउटा टाँगा बनायो र सइदालाई माइतीमा उसकी आमाकहाँ छोडिदियो ।

घर फर्केपछि वासितलाई आमाले सोध्नुभयो, “सइदा कहाँ छ ?”

वासितले जवाफ दियो, “जिद्दी गर्दै थिई । मैले उसलाई माइती छोडेर आएँ ।”

वासितकी आमाले उसलाई हप्काउनुभयो, “बकवास गर्छ । जिद्दी गर्दै थिई भने गर्न दिनु पथ्र्यो । तैंले यसरी उसको बानी बिगार्दै जालास् अनि मलाई दोष देलास् कि मैले तेरो बिहे यस्तीउस्ती केटीसँग गरिदिएँ भन्लास् ।”

वासितले भन्यो, “होइन आमा, सइदा राम्री केटी हो ।”

आमा मुस्कुराउनुभयो, “मैले भनेकी थिएँ त तलाई । केटी राम्री छ । केटीको चालचलन राम्रो छ । उसलाई पक्कै मन पराउछस् भनेर भनेकै हो नि मैले ।” अनि सुपारी काट्दा काट्दै एक्कासि वासितलाई सोध्नुभयो, “अनि वासित, माथि बाथरुममा केको रगत हो त्यस्तो ?”

वासित अकमकियो, “त्यो… केही होइन आमा । मेरो नाथ्री फुटेको हो ।”

आमाले रिसाएको आवाजमा भन्नुभयो, “तँलाई कति भन्छु म गर्मी गराउने कुरा नखा भनेर । जतिबेला पनि खल्तीभरि बदाम हुन्छ ।”

वासित केही बेरसम्म आमासँगै कुरा गरी बस्यो । जब आमा उठेर जानुभयो, ऊ पनि हतारमा बाथरुम पस्यो । रगताम्य भएको बाथरुम पानीले राम्ररी सफाई गर्न चाहन्थ्यो । उसको मन सन्तुष्ट थियो कि सइदाको विषयमा उसले आमासँग केही कुरा गरेको छैन । साथै, सइदाले लुकाउन खोजेको रहस्य आफूले थाहा पाएको सङ्केत दिएन ।

उसले मनमनै सोचिसकेको थियो कि सइदाको रहस्य सधैंका लागि आफ्नो मनमा दबाएर राख्नेछु । सइदाले धेरै पीडा झेलिसकी । वासितको विचारमा सइदाले आफ्नो गल्तीको सजाय पाइसकेकी थिई । अब थप सजाय दिनुको कुनै अर्थ छैन । “भगवान्को कृपाले ऊ चाँडै निको होस् । स्वस्थ होस् । कम्तीमा अब उसको अनुहारमा त्यो डरको कालोनीलो बादल त नहोला ।” वासितले सोच्यो ।

उसले यस्तो सोचिरहेकै बेला उसकी आमा चिच्च्याएको आवाज आवाज आयो । बाथरुम सफा गर्दागर्दै पानीको जग त्यसै राखेर दौडिदै तल आयो । सबै कोठामा हेर्यो । कतै भेटेन । घरको दैलोमा पुग्दा भने आमालाई उत्तानो परेको देख्यो, मरिसकेको अवस्थामा । आमा नजिकै काठको फोहोर फ्याँक्ने बाकसमा बच्चाको नमुनाजस्तो देखिने रगतको डल्लो कपडामा लपेटिएको अवस्थामा थियो ।

भयानक चोट पुग्यो वासितलाई । उसले पहिला बच्चालाई उठायो । कपडामा राम्ररी लपेट्यो र जुत्ता राख्ने गरेको खाली डिब्बामा बन्द गरेर राख्यो । अनि आमालाई उठाएर खाटमा सुतायो । आमाको सिरानीनेर बसेर धेरैबेर रोइरह्यो ।

सइदालाई यसबारेमा खबर पुग्यो । खबर थाहा पाएर उसलाई आफ्नी आमासँगै फर्किनुप¥यो । ऊ उस्तै कालीनीली थिई । पहिलाको भन्दा अझ बढी कमजोर । उसलाई देखेर वासितलाई दया लाग्यो । उसले भन्यो, “सइदा ! भगवान्को चाहना जे थियो, भइसक्यो । तिम्रो स्वास्थ्य ठीक छैन । रुन बन्द गर । भित्र जाऊ र सुत ।”

भित्र जानुको साटो सइदा दैलोनेर गई । फर्किंदा उसको अनुहार झनै कालोनीलो भएको थियो । वासित मौन थियो । सइदाले वासितलाई हेरी । सइदाका आँखामा आँसु थिए जुन आँसुले वासितप्रति कृतज्ञता जाहेर गर्दै थिए ।

वासितले आत्मीय आवाजमा भन्यो, “धेरै रुनु हुँदैन सइदा … भगवान्लाई जे स्वीकार्य थियो, भइसक्यो ।”

अर्को दिन नहर किनारमा खाडल खनेर उसले बच्चा गाडिदियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot