Logo

गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?



काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले राजीनामा गरी नेपाली काँग्रेसका वीरेन्द्रप्रसाद कनौडियालाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति भएको छ ।

कनौडियाले आलोपालोको सहमतिबारे खुलाइसकेका छन् । लुम्बिनीको आलोपालो सरकार चलाउने विषय माओवादीको केन्द्रीय कमिटी बैठकमा उठेको छ । लुम्बिनीमा आलोपालो भएकाले गण्डकीमा पनि हुनुपर्ने भन्दै प्रचण्डसमक्ष विषय उठाइएको छ । हितराज पाण्डेले यो विषय बैठकमा उठाएपछि तरंग आएको छ ।

गण्डकीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री चुनावसम्म हुने सम्भावना बलियो छ । लुम्बिनीमा आलोपालो हुने भए गण्डकीमा पनि हुनुपर्छ भन्दै माओवादीभित्र आवाज उठेको छ । भविष्यमा काँग्रेससँगै चुनावी प्रतिष्पर्धाको विषय पनि उठेको छ ।

लुम्बिनीमा आलोपालोको विषय खुलिसकेको छ । तर, शिर्ष नेताहरुबीच अन्य प्रदेशमा पनि त्यस्तै भित्री सहमतिको चर्चा छ । केन्द्र सरकारमा पनि आलोपालोको सहमति भएको हुनसक्ने बुझिएको छ । चुनावको ६ महिना अघि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर जाने सहमतिबारे चर्चा विगतमा चलेको थियो । नेता नेपाल निकै उत्साही भएर आक्रामक ढंगले ओलीविरुद्ध प्रस्तुत भएका छन् । जुन अर्थपूर्ण छ ।

कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ती प्रदेशहरुमा आलोपालोको कुरा भने उठेको छैन । तर, कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार ढल्न नदिन एमालेको माधवकुमार नेपाल पक्षको मुख्य भूमिका छ । त्यसवापत् नेता नेपालले अन्य प्रदेशमा सरकार गठन गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्ने या भविष्यमा आलोपालो सरकारको आश्वासन पाएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्