Logo

कांग्रेसको इच्छामा एमाले किन फुट्ने ? माधव नेपालले पार्टी फुटाउने विश्वास छैनः भीम आचार्य



काठमाडौं, भदौ १ । नेकपा एमालेका सचिव भीम आचार्यले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाउने विश्वास नभएको बताएका छन् । आफ्नो समूहले पार्टीको एकताका लागि अन्तिम समयसम्म कोसिस गर्ने उनको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता आचार्यले भने, “पार्टी विभाजन गर्नुपर्छ भन्ने दुवै पक्षतिर छन् । म सबै नेताहरुलाई के अपिल गर्छु भने पार्टी फुटाएर समस्याको समाधान निकाल्न सकिँदैन । पार्टी विभाजनले मुलुकका समस्या समाधान हुन्नन्, बरु बढ्छन् । १५ वर्ष पार्टीको नेतृत्व गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका माधवकुमार नेपालजस्तो जिम्मेवार नेताले पार्टी विभाजन गर्नु होला भन्ने मलाई लाग्दैन ।”
१० बुँदे सहमति कार्यान्वयन भएमा पार्टीमा ठीक ढंगले काम गर्ने वातावरण बन्ने उनले ठोकुवा गरे । उनले भने, “अध्यक्ष केपी ओलीसँग हामीले केही कुरा राखेका छौं । त्यो कार्यान्वयन भएमा एकता हुन्छ । तर, हामी पार्टी फुटका पक्षमा छैनौं । अध्यक्ष ओलीले बाटो बन्द गर्नुभो र १० बुँदे कार्यान्वयन कार्यान्वयन नहुने भो भने मात्र बाटो अर्को हुन सक्छ । कोसिस जारी छ, हरेस खाएका छैनौं ।” साथै आजको बैठकमा जाने नजाने कुनै निधो नभएको उनले बताए । उनले भने, “हाम्रै पार्टी हो । त्यसैले जानु नजानु कुनै अनौठो कुरा होइन ।”
दल विभाजन सम्बन्धी अध्यादेश आएपछि के हुन्छ, पार्टी फुटाउनुहुन्छ कि एमालेभित्रै रहनुहुन्छ भन्ने धमलाको प्रश्नमा उनले भने, “हामीले हिजो केपी ओलीले अध्यादेशले शासन चलाउने प्रक्रिया र तरिकाको विरोध गरेका हौं । अध्यादेश ल्याएर अर्काको दल फुटाउने कदम चाल्नु अहिले पनि गलत हो । त्यसले लोकतन्त्रको स्थायित्व, संविधानको रक्षा, देशको विकास र समृद्धिमा अप्ठ्यारो पर्छ । घटनाक्रम कसरी अघि बढ्छ, त्यसपछि मात्र हामी सल्लाह गरेर अघि बढ्छौं । मलाई अझै पनि एमाले फुट्छ जस्तो लाग्दैन । पार्टी एकताका लागि दबाबमुलक कार्यक्रम हो । कसैले अध्यादेश ल्याउँदैमा पार्टी फुटाउने कुरा आउँदैन ।”

कांग्रेस एमालेको प्रतिस्पर्धी पार्टी भएकाले फुटाउन खोज्नु स्वाभाविक भएको उनको कथन छ । उनले भने, “कांग्रेसले एमाले फुटोस्, टुक्रियोस् भन्ने चाहला तर हामी उसको इच्छामा किन फुट्ने ? कुरा कति जना कति प्रतिशत होइन, कुन दिशामा जाने, कुन बाटोमा हिँड्ने हो भन्ने हो । पार्टी एकताका लागि अन्तिम प्रयत्न गर्ने कि नगर्ने भन्ने हो यो आन्दोलन जोगाउन लाग्ने कि नलाग्ने भन्ने हो ।”

आचार्यले वरिष्ठ नेता झलनाथ खनाल पनि एकताकै पक्षमा रहेको बताए । केही समयअघि नेता सुरेन्द्र पाण्डेसहित दिल्ली पुगेर खनाललाई भेटेर फर्केका नेता आचार्यले भने, “उहाँको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अरु समस्या घटेर गएको छ । हामी उहाँलाई पार्टी फुटाउने वा नफुटाउने भनेर सोध्न गएको होइन । स्वास्थ्य स्थिति बुझ्न गएका हौं । पहिले डाक्टरले अनुमति नदिएकाले पछि गएका हौं । उहाँले सकेसम्म पार्टी एकताबद्ध बनाएर लैजानूस् भनेर भन्नुभएको हो । उहाँले विभाजनका लागि अघि बढ्नुस् भनेको मैले एक शब्द पनि सुनिनँ ।”



प्रतिक्रिया दिनुहोस्