काठमाडौं, १ भदौ । देशमा राजनीतिक दलहरु फुट्ने र जुट्ने क्रम २०४७ सालको बहुदलीय प्रजातन्त्र यता चल्दै आएको छ । प्रमुख दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अलावा मधेश केन्द्रित दलहरु फुट्ने र जुट्ने क्रम चलिरहेको छ । तर, इतिहास केलाउँदा फुटेर गएकाहरु लामो समय बलियो भएका छैनन् । संसदीय चुनावमा फुटेकाहरुको सर्मनाक हार भएको इतिहास पनि छ ।
नेकपा एमाले २०५५ सालमा विभाजित भएको थियो । महाकाली सन्धीमा मतभेद भएपछि एमाले विभाजित हुँदा अध्यक्ष मनमोहन अधिकारी थिए भने महासचिव माधवकुमार नेपाल थिए । एमालेबाट फुटेको नेकपा मालेका अध्यक्ष साहना प्रधान र महासचिव बामदेव गौतम बनेका थिए । फुटपछि माले सरकारमा समेत सहभागी भएको थियो ।
२०५६ सालको चुनावमा नेकपा मालेले २०५ निर्वाचन क्षेत्रमध्ये कुनै सिटमा चुनाव जितेन । मालेका महासचिव बामदेव गौतमलगायत हस्ती नेताहरु नै पराजित भए । मालेको सर्मनाक चुनावी हारपछि नेताहरु धमाधम एमालेमा फर्कन थाले । पछि बामदेवले पनि एमालेसँग एकता गरे । सीपी मैनाली नेकपा माले नै गठन गरेर अझै अलग रहेका छन् । उनको राजनीतिमा खासै प्रभावशाली उपस्थिति देखिदैन ।
नेपाली काँग्रेस पनि २०५९ सालमा विभाजित भयो । गिरिजाप्रसाद कोइराला सभापति हुँदा शेरबहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरे । काँग्रेसका विभाजनले तत्कालीन राजा ज्ञानेन्द्र र सशस्त्र गतिविधि गर्दै आएका माओवादी दुवै शक्तिशाली भए । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलगायतका घटना विकास भए ।
काँग्रेस विभाजन गरेर नयाँ पार्टी गठन गरेका देउवा निरन्तर कमजोर हुँदै गए । २०६४ सालमा काँग्रेस एकीकरण भयो । देउवालाई एकीकृत काँग्रेसमा निकै कठिन भयो । उनले नेतृत्वका लागि ८ वर्ष कुर्नपरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पटक पटक फुट्ने र जुट्ने गर्दै आएको छ । २०४८ सालको आम निर्वाचनमा फुटेर चुनाव लडेका पूर्व पञ्चहरु निकै कमजोर भए । सुर्यबहादुर थापा पक्षले १ र लोकेन्द्रबहादुर चन्द पक्षले ३ सिट जित्यो । तर, २०५१ सालको मध्यावधि चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट भएर चुनाव लड्दा २०५ मध्ये २० सिटमा चुनाव जिते । राप्रपा तेस्रो शक्ति बन्यो । तत्कालीन राप्रपा नेताहरु सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री बने ।
राप्रपा फेरि फुट्यो । संविधानसभाको पहिलो चुनावमा कमल थापा कमजोर सावित भए । संविधानसभामा ८ सिट मात्र जित्यो । दोस्रो संविधानसभा चुनावमा राप्रपाले १३ सिट र फुटेको राप्रपा नेपालले २५ सिट जित्यो ।
राप्रपा फेरि फुट्यो । २०७४ सालको चुनावमा फुटेर गएकाहरु सुन्य सिटमा सिमित भए । राप्रपाले पनि मात्र १ सिट प्रत्यक्षतर्फ जत्यो ।
मधेश केन्द्रित दलहरु पनि पटक पटक फुटेका छन् । विगतमा सद्भावना पार्टी फुट्ने र जुट्ने भइरह्यो । फुटेकाहरु कमजोर भए । मधेशी जनअधिकार फोरम एक भएर चुनाव लड्दा देशको चौंथो शक्ति बनेको थियो । तर, फोरम पनि फुट्यो । पछि उपेन्द्र यादव र महन्थ ठाकुर मिलेर चुनाव लड्दा २०७४ सालमा चौंथो ठूलो शक्ति बन्न सफल भए । अहिलेको जनता समाजवादी पार्टी फुटको संघारमा छ ।
नेकपा माओवादीले एकीकृत भई सशस्त्र जनयुद्ध गर्यो । शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा चुनावमा एक भएको माओवादीले सानदार जित हासिल गरेको थियो । माओवादी पहिलो शक्ति बन्यो । तर, माओवादी निरन्तर चोइटिदै गयो । मोहन वैद्य किरण पक्ष विभाजित भएर गयो । किरण पक्षले दोस्रो संविधान सभामा भाग समेत लिएन । किरण पक्ष निरन्तर कमजोर हुँदै गयो । दोस्रो संविधानसभाको चुनावमा माओवादी तेस्रो शक्ति बन्यो ।
माओवादीबाट फुटेर गएका र ती दलबाट पनि फेटेकाहरु राजनीतिमा निकै कमजोर भए । सशस्त्र गतिविधिमा लागेका नेत्रविक्रम चन्द विप्लव पनि ब्याक हुन वाध्य भए । किरण, गोपाल किराँतीलगायत विभिन्न कम्युनिस्ट पार्टी अस्तित्वमा मात्र छन् ।
माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी बनाएका बाबुराम भट्टराईले २०७४ सालको आमनिर्वाचनमा एक मात्र सिट जिते । उनी पछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गर्न पुगे । अहिले जनता समाजवादी पार्टीको पहिलो वरियताका नेता छन् ।