Logo

“जसपा (लोकतान्त्रिक) गठन गर्छौं, ओलीको अध्यादेशले जुट्यौं, देउवाको अध्यादेशले फुट्यौं”



काठमाडौं, भदौ २ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश स्वीकृत हुनासाथ निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) गठन गरिने बताएका छन् । दलहरु विभाजित भइसकेकाले कानुनी स्वरुप दिन अध्यादेश आउनु स्वाभाविक भएको कर्णको दाबी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता कर्णले भने, “यो अध्यादेशको आवश्यकता थियो । संसद् पुनःस्थापना भयो, तर कुनै काम भएन । संसद् विघटन गर्नुपर्ने अवस्था आइसक्यो ।” उनले थपे, “यो अध्यादेश दल विभाजन गर्न आएको होइन । दलहरु विभाजित भइसकेका छन् । त्यसलाई कानुनी स्वरुप दिन मात्र आएको हो । यसमा राम्रो र नराम्रो कुरा छैन ।”

केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा त विरोधमा उत्रिनुभएको थियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने, “हो, हामी विरोधमै थियौं । केपी ओलीको अध्यादेशले पार्टी जुट्यो, शेरबहादुर देउवाले ल्याउँदा फुट्यो ।”

उनले १६ जना सांसद र अद्यावधिक केन्द्रीय सदस्यसहित नयाँ दलमा सामेल हुने बताए । उनले भने, “हाम्रा नेता कार्यकर्ता हामीतिरै छन् । अझ धेरै केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरुले उपेन्द्र यादवलाई छाडिसके । केही सांसद उपेन्द्र यादवतिर मन्त्री बन्न गएका थिए । अब मन्त्री नबने यतै आउँछन् । नफर्की सुखै छैन ।”

नेता कर्णले नयाँ दल गठन भए पनि सरकारमा नजाने बताए । उनले भने, “अहिले सरकारमा जान लागि भीड लागेको छ, संविधानले २५ जना भन्दा बढी नराख्नु भनेकाले अटाइरहेको छैन । देउवा, प्रचण्डलाई नै पुगेको छैन । त्यसैले हामीले सरकारमा जाने सोचेका छैनौं ।”



प्रतिक्रिया दिनुहोस्