Logo

वैकल्पिक शक्ति निर्माणको अभियानबाट विचलित साथीहरू एक वर्षमै बाहिरिएः जसपा नेता यादव



काठमाडौं, भदौ ३ । जसपाका नेता राजकिशोर यादवले वैकल्पिक शक्ति निर्माणको पथबाट विचलित नेताहरुले जसपा लोकतान्त्रिक गठन गरेको बताएका छन् । नयाँ दल खोले पनि त्यसको अस्तित्व रक्षा सजिलो नभएको उनको कथन छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले भने, “दल विभाजन किमार्थ राम्रो होइन । यो दुर्भाग्यपूर्ण स्थिति हो । त्यसले मूलशक्तिलाई केही न केही क्षति पुग्छ नै । तर वैकल्पिक शक्ति निर्माण गरेर प्रगति र समृद्धिको पथमा शोषण र उत्पीडन र गरिबीको दुष्चक्रबाट मुलुकलाई मुक्त गर्ने अभिभारा लिएका साथीहरुले एक वर्षमै विभाजन गरेका छन् । यो निकै दुःखद छ । जसपा जेका लागि बनेको हो, जसरी जानुपर्ने थियो, त्यसमा अड्न नसकेकाले या सँगै हिँड्न नसकेर छुट्टिएको अवस्था हो ।”
उनले राजनीतिक दल पात्रभन्दा पनि विचार र सिद्धान्तले चल्ने भएकाले खासै फरक नपर्ने पनि उनले बताए । उनले थपे, “राजनीति भनेको भीडतन्त्र होइन, होहल्ला मात्र पनि होइन । दलका निश्चित उद्देश्य र कार्यक्रम हुन्छन् । मधेसका जनता सचेत भएकाले कुन दल ठीक हो, कुन बेठीक हो, वैकल्पिक शक्ति निर्माणको आधारशिला, ल्याकत, भिजन कोसँग छ ? त्यसै आधारमा आशा, भरोसा र विश्वास तय हुने हो ।”
जसपा लोकतान्त्रिकलाई राष्ट्रिय राजनीतिमा स्थापित हुन कठिन हुने उनले औंल्याए । उनले भने, “कुनै व्यक्तिसँग रिस उठेर वा कुरा नमिलेर दल गठन गर्नुहुन्छ भने जनताले कसरी लिन्छन् ? २०७० को आम निर्वाचनमा ३१ दल थिए, २०७४ मा ५ वटा मात्र राष्ट्रिय दल बने । साथीहरुलाई आफ्नो अस्तित्व बचाइराख्न कठिन छ ।”

नेता यादवले सरकारमा जाने बाटो खुले पनि मन्त्रालय र मन्त्रीको संख्या थाहा नभएको बताए । उनले भने, ‘क-कसलाई पठाउने, कसले नेतृत्व गर्ने, कति मन्त्रालय पाउने भन्ने थाहा छैन । केन्द्रीय कार्यकारिणी समितिले मूल नेतृत्वलाई जिम्मा दिएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot