Logo

ओली संकीर्णता र गुटमा लाग्नुभयो, माधव कमरेड हतारिनुभयोः मुख्यमन्त्री शाक्य



काठमाडौं, भदौ ४ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले संकीर्णता र गुटगत क्रियाकलाप गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल अर्को पार्टी गठन गर्न हतारिएको बताएकी छन् । अध्यक्ष ओलीले सबै स्वार्थ छाडेर पार्टीलाई बलियो बनाउन चाहने हो भने अझै पनि एकता सम्भव रहेको उनको दाबी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै मुख्यमन्त्री शाक्यले भनिन्, “पार्टी विभाजनको मूल दोष अध्यक्ष ओलीलाई नै जान्छ । अध्यक्ष भएपछि माधव, झलनाथ खनाल लगायत कमरेडलाई एकताबद्ध बनाउने पहिलो कर्तव्य ओलीकै हो । यस मामिलामा अध्यक्ष केपी ओली साह्रै संकीर्णता र गुटवादमा लाग्नुभयो । विचार कमजोर बनाउनुभयो । त्यसैले एकताको भावना कमजोर भयो । मलाई के लाग्छ भने माधव कमरेड पनि धेरै हतारिनुभयो । केपी कमरेडले पदमा बसुन्जेल सम्पूर्ण कुरा छाडेर पार्टी बलियो बनाउँछु भनेर लाग्नुपर्छ । मुलुकको परिवर्तन र लोकतन्त्रको रक्षाका लागि फराकिलो सोच राख्नुको विकल्प छैन ।”

नेतृ शाक्यले आफू लगायतका ५७ जना केन्द्रीय सदस्य अझै पनि १० बुँदे सहमतिमार्फत एकता गर्ने अभियानमै लागेको उनले बताइन् । उनले भनिन्, “माधव कमरेडले अर्को पार्टी गठन गर्नुभएको छ । त्यसरी पार्टी फुटाउँदा संविधान, गणतन्त्र र लोकतन्त्र कमजोर हुन्छ । हामी त एमाले मात्र होइन, कुनै पनि पार्टी फुट्नु हुँदैन भन्ने पक्षमा छौं । त्यसैले एकताको पक्षमा दृढतापूर्वक उभिएका छौं । नेताहरुले आफ्नो वचनमा अडिग हुनुपर्छ । १० बुँदे प्रस्ताव कार्यदलले गरेको सहमतिको स्वामित्व सबैले लिनुपर्छ । हामीले जे प्रयास गर्दैछौं, त्यो कदम सफल हुन्छ भन्ने विश्वास छ । भित्री मनदेखि चाहने हो भने एकता हुन्छ ।”

माधव नेपालले पार्टीको मात्र नभएर आन्दोलनलाई नै बचाउनुपर्ने बारे गम्भीर रुपमा सोच्नुपर्ने उनले बताइन् । उनले थपिन्, “माधव कमरेडले लामो समय पार्टीको नेतृत्व गरेको हो । उहाँले पनि गम्भीर भएर सोच्नोस्, पार्टी र आन्दोलन बचाउने कि नबचाउने ? मन फराकिलो बनाएर सम्पूर्ण स्वार्थ छाडेर सिंगो मुलुकको भविष्य हेरेर कदम चाल्नोस् भनिरहेकी छु । ओलीलाई पनि माधव कमरेडलाई बोलाउनुस्, कुराकानी गर्नुस्, दिल खोलेर कुरा गर्नुस् भनिरहेकी छु । नेताहरुले एकले अर्कोलाई सम्मान गर्न सिक्नुपर्छ । सम्मान कमजोर भएको छ । आफूले जे प्रतिबद्धता गरेको छ, त्यसको इमानदारीपूर्वक पालना गर्नुपर्छ । माधव कमरेड आखिर पराई त होइन । एकताका निम्ति म मात्र लागेको होइन, लाखौंलाख कार्यकर्ताको पंक्ति लागेको छ । म पनि यसमा प्रयत्नशील छु ।”

केपी ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे कुन कित्ता रोज्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “अस्ति एकता पक्षधर टिमले भनिसकेको छ, धेरै लामो समय आश्वासन मात्र दिएर अल्मल्याउँदा पार्टीलाई नोक्सान हुन्छ । यहाँ दिनको मात्र होइन, घन्टाको पनि महत्त्व छ । जे गर्ने हो, छिटो गर्नुपर्यो । १० बुँदे प्रस्ताव पालना गर्ने हो भने कित्ता रोज्नपर्ने जरुरी हुन्न ।”

एमाले एकता अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने उनले बताइन् । उनले भनिन्,  “अहिले ओलीले प्रस्तुत गर्नुभएको विधान विधान गलत छ । कम्युनिस्ट पार्टीमा एउटा व्यक्तिलाई सबै अधिकार दिने कुरा आउँदैन । एकपक्षीय गतिविधि रोक्नुपर्छ । फुट र विभाजनले शक्ति पैदा गर्दैन । हामीले २०४७ मा माले र मार्क्र्सवादी एकता गर्दा शक्ति पैदा भयो, २०५४ मा एमाले र माले विभाजन हुँदा नोक्सान भयो ।”

मुख्यमन्त्री शाक्यले आफूलाई अध्यक्ष ओली र माधवकुमार नेपाल दुवैको समर्थन रहेकाले विश्वासको मत लिन गाह्रो नहुने पनि दाबी गरिन् । उनले भनिन्, “विश्वासको मतका बारेमा माधव कमरेड र केपीसँग कुरा गरेको छु । मलाई दुवै नेताको साथ र समर्गन छ । माधव कमरेडले अगाडि बढ्नुस् भन्नुभएको छ । म जनमत कदर गरेर जान्छु । सबैलाई समेटेर देश र जनताको हितमा काम गर्छु ।” अहिले भेटघाटका लागि काठमाडौं आए पनि केही दिनमा नै राजधानी हेटौंडा फर्कने उनले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्