काठमाडौं, भदौ ९ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको दाबी गरेका छन् । उनले एमालेमै बस्ने हो भने शाक्यले विश्वासको मत नपाउने बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता पाण्डेले भने, “बाग्मती प्रदेशमा एमालेका ५६ जना थियौं, ५५ भए बहुमत पुग्थ्यो । अब २१ दिनभित्र सांसदहरुले पार्टी रोज्न पाउँछन् । त्यसैले अष्टजी अल्पमतमा परिसक्नुभयो । उहाँले हामीसँग आए विश्वासको मत दिने हो । आउनुभएन भने उहाँको पद धरापमा पर्छ ।”
बाग्मती प्रदेशमा माधव नेपाल समूहका २१ जना सदस्यमध्ये ६० प्रतिशतभन्दा बढी सांसद एकीकृत समाजवादीको पक्षमा उभिएको उनको दाबी छ । आज सनाखत हुने नेकपा (एकीकृत समाजवादी) मा ३३ जना सांसद र ५८ जना केन्द्रीय सदस्य रहेको पनि उनले बताए ।
तपाईंहरुको पक्षका १० जना स्थायी समिति सदस्य त ओलीमा विलीन हुनुभयो नि त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “ती साथीहरु नवौं महाधिवेशनबाट स्थायी समितिमा आउनुभएको हो । कतिपय त मजस्तै नवौं महाधिवेशनमा चुनाव हारेका साथीहरु हुनुहुन्छ । म पनि उपाध्यक्षमा थोरै मतले हारेको हुँ । म कम्युनिस्ट कोके, माले, एमाले हुँदै आइपुगेको हुँ ।”
उनले थपे, “केही साथीहरु नहुँदा शक्तिमा कमी हुनु स्वाभाविक हो । तर केपी ओली सुध्रिँदैनन् । त्यो उहाँहरुको आत्मरति मात्र हो । म उहाँहरुको बारेमा धेरै नकारात्मक कुरा गर्न चाहन्न । अलि दिनपछि रुवाबासी गर्नुहुन्छ । हामी त्यो दिनको पर्खाइमा छौं । त्यसैले धेरै हतार नगरौं ।”
नेता पाण्डेले समाजवादी कार्यक्रम बोकेको क्रान्तिकारी पार्टी बनाएर देखाउने बताए । उनले भने, “कमरेड माधव नेपाल हाम्रो प्रमुख नेता हो । तर हामी धेरै साथीहरु छौं । हामीसँग विद्यार्थी जीवनदेखि काम गरिरहेका नेताहरु छन् । नेताहरुको हामीसँग कुनै कमी छैन ।” उनले थपे, “पार्टी बनाउन गाह्रो हुन्छ कि भन्ने साथीहरुलाई लागेको कुरा मात्र हो । पार्टी बनेपछि साथीहरु यतै आउनुहुन्छ । पार्टी बनाउन गाह्रो हुन्छ, तर हामी गरेर देखाउँछौं ।”
चन्द्रागिरि बैठकमा विगतका समीक्षा र भविष्यको रुपरेखा बनाएको नेता पाण्डेले बताए । उनले भने, “हामीले अस्ति निर्वाचन आयोगमा विधान, घोषणापत्र, नियमावलि पेश गरेका थियौं । त्यसलाई परिमार्जित गर्यौं ।”
नवगठित पार्टीले जनताको बहुदलीय जनवादको साटो वैज्ञानिक समाजवादको कार्यक्रम लिएको पनि उनले बताए । उनले भने, “जति बेला त्यो आवश्यक थियो, त्यो लियौं । अहिले राज्यको स्वरुपलगायत राजनीतिक परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । ओलीले २०७५ जेठ ३ मै जनताको बहुदलीय जनजाद छाडेको बिर्सनुभयो तपाईंले ?”
उनले अबको १०–१५ दिनभित्र नवगठित पार्टी सबै संरचना बनिसक्ने बताए । निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त भएपछि सरकारमा जाने टुंगो लाग्ने उनको भनाइ छ । उनले भने, “हामी भोलि बिहानसम्म सरकारमा जाने टुंगो लगाउँछौं ।”