Logo

एमालेले सभामुखलाई महाअभियोग लगाउन सक्दैनः नेता केसी



काठमाडौं, भदौ ११ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगमन केन्द्रमा मात्र नभएर प्रदेशमा पनि ढलेको बताएका छन् । ओलीको आशीर्वादमा मुख्यमन्त्री भएका नेताहरुको बहिर्गमनले त्यो देखाएको दाबी गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले भने, “केपी ओलीको प्रतिगमन केन्द्रमा ढल्यो, प्रदेशमा पनि ढल्यो । हामीले अजम्बरी बुटी खाएका छौं, पाँच वर्षसम्म हामी नै हौं, हामीलाई कसले हटाउन सक्छ भनेका थिए । आज ओलीकै कारण उनीहरु बिदा भए ।”

अब तपाईं पनि सरकारको प्रवक्ता बन्नुभएको हो, प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न किन डराउन हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले व्यावहारिक कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकिएको बताए । उनले भने, “मुलुकमा दुई तिहाइको सरकारको हविगत के भयो, तपाईंहरुलाई थाहै छ । त्यो सरकारले काम गर्न नसकेकाले अहिलेको सरकार आएको हो । प्रतिगमनको अग्रमोर्चामा रहेका माधवकुमार नेपालको नयाँ पार्टी गठनपछि बल्ल मन्त्रिपरिषद् विस्तारको मेसो आउँदै छ । अहिले सरकारको विरोध गर्ने बेला भएको छैन । विरोधका लागि विरोधमात्र गरेर के हुन्छ ? लोकतन्त्र छ । विरोधमा जान कसले छेक्ने हो र ?”

उनले आफ्नो पार्टी सरकारमा नजाने पनि स्पष्ट पारे । उनले थपे, “सरकारमा कहिल्यै नजाने भनेको छैन । २०७२ सालमा म नै उपप्रधानमन्त्री भएको थिएँ । यसपालि नजाने भनेका हौं । जबर्जस्ती दिने कुरा पनि भएन । हुन त चार दललाई नै मन्त्रालय पुगेको छैन । त्यसैले हामी गुण-दोषका आधारमा सरकारले राम्रो काम गर्दा समर्थन, नराम्रो काम गर्दा विरोधमा गर्छौं । पहिलेजस्तो गरेका थियौं, त्यस्तै गर्छौं । हामी प्रतिपक्षी नै हौं,” उनले भने ।

अर्को प्रसंगमा नेता केसीले माधवकुमार नेपालको नयाँ पार्टीसँग एकताभन्दा पनि सहकार्य हुने बताए । उनले भने, “नयाँ पार्टीसँग एकीकरण होइन, सहकार्य हुन्छ । कांग्रेस, एमाले, माओवादी, जसपासँग पनि सहकार्य हुन्छ ।” नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउन नसक्ने उनले बताए । उनले भने, “सधैं भाँडभैलो मुलुकका लागि दुर्भाग्य हो । कुनै कुरामा चित्त नबुझे अदालतमा जान पाइन्छ, निर्वाचन आयोग जान पाइन्छ । दिल्ली, अमेरिका पनि जान पाइन्छ । तर एमाले महाअभियोगको प्रस्ताव पारित गर्न सक्दैन । उसको मत पुग्दैन । भाँडभैलो र बदमासी गरेकाले आजको अवस्था आएको मनन गर्नुपर्यो ।”

साथै उनले संघीयता महँगो भएकाले नेपाली जनताले धान्न नसक्ने भएकाले चाँडै खारेज हुने पनि दोहोर्याए ।



प्रतिक्रिया दिनुहोस्